विदुरः नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको वसाई मन्त्रालयमै हुन थालृेको छ । मन्त्रालयमा मंगलवारदेखि उनको लागि भान्सा र आाराम गर्ने कोठाको व्यवस्थापन गरेसंगै उनी मन्त्रालयमै वस्न थालेका हुन् ।


यससंगै मन्त्रि पुन २४ सै घण्टा मन्त्रालयमा हुने भएका छन् । उनले सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै आफूलाई बस्नका लागि सरकारी छुट्टै सरकारी निवास नचाहिने बताएका थिए । उनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन समेत दिएका थिए । अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ? भन्ने पत्रकारको प्रश्नमा उनले मन्त्रालयमै बस्ने जवाफ दिएका थिए ।

उनले भने, ‘मेरो त जहाँ काम ग¥यो त्यहीँ बस्ने बानी छ, एउटा कोठा बनाउनुस् , मन्त्रालयमै बस्छु, एउटा कुर्सी चाहिन्छ, किचन चाहियो, आफैं पकाएर खान्छु ।’
यसो भनेको एक दिनपछि उनी मंगलबारदेखि मन्त्रालयमै बस्न थालेका छन् । उनले भने, ‘सुत्ने बेड र भान्छा कोठाको व्यवस्था भयो । आजदेखि केशरमहलस्थित शिक्षा मन्त्रालयमै सुत्ने र खाने गर्छु ।’ यसो गर्दा दैनिक कामकाज गर्नसमेत सजिलो हुने उनको भनाई थियो । जेनजी आन्दोलनका क्रममा भैंसेपाटीस्थित मन्त्रीहरुको आवासमा पनि आगजनी भयो । फलतः सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरु कसैले पनि सरकारी आवास पाएका छैनन् ।

यद्यपि, प्रधानमन्त्री सुशिला कार्कीबाहेक बाँकी सबै मन्त्री आफ्नै घरमा बस्दै आएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथग्रहण गरेको भोलिपल्ट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेकी थिइन् । कार्कीले आफ्नै निवासमा बस्ने बताए पनि मुख्यसचिव एकनारायण अर्यालसहितका उच्च पदस्थ कर्मचारीले सुरक्षा लगायतको व्यवस्थापनमा समस्या हुने भनेर सरकारी निवासमै बस्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री बस्ने बालुवाटारको सरकारी निवासमा पनि आगजनी भएको थियो ।

आगजनीबाट कम क्षति पुगेको भवनमा प्रधानमन्त्रीका लागि बसाइको व्यवस्थापन गरिएको हो । अन्य मन्त्रीहरु भने आआफ्नै घरमा बसेर मन्त्रालय धाइरहेका छन् ।
अर्थ एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल भक्तपुरस्थित आफ्नै निजी निवासमा बस्दै आएका छन् । उनले सरकारी सवारी साधन पनि लिएका छैनन् । उर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ काठमाडौंको बौद्ध महांकालस्थित आफ्नै निजी निवासमा बसिरहेका छन् । उनले सरकारी सवारीसाधन भने प्रयोग गरेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल ललितपुरको सानेपास्थित आफ्नै घरमा बसिरहेका छन् । नवनियुक्त उद्योग तथा कानूनमन्त्री अनिलकुमार सिंन्हा काठमाडौंको नारायणहिटी दरबार सग्रहालय नजिकै रहेको आफ्नो निजी निवासमा बस्छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियार काठमाडौंको कलंकी स्युचाटारमा रहेको आफ्नै निवासमा छन् । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि आफ्नै घर इमाडोलमा बस्छन् ।






