बिदुरः चाडबाडमा यात्रुको सहजता र सुरक्षाका लागि नुवाकोटको विभिन्न ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको समन्वयमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडकमार्गका विभिन्न ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको हो ।


मुख्य पर्व वडादशैं सुरु भएसँगै यात्रुहरूको चाप असामान्य रूपमा बढ्ने भएकाले यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न नुवाकोटको ढुंगेचोक, बट्टार बसपार्क, ढिकुरे, गुर्जेभञ्ज्याङ, खरानीटार र कोल्पुटारमा गरी ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार यात्रुहरूको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको हो । यात्रुको भीड बढी हुने समयमा यात्रु सहायता कक्षहरूले वढि भाडा लिए, नलिएको उजुरी, समन्वय, सूचना, यात्रुहरुलाई सचेतना र आपतकालीन सहयोग प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

‘यात्रु सहायता कक्ष’मा खटाइएका प्रहरी र स्वयंसेवकहरूले यात्रुहरूलाई सार्वजनिक यातायात, टिकट, गन्तव्य सम्बन्धि जानकारी, सवारी साधनको व्यवस्थापन र आपतकालीन अवस्थामा यात्रुलाई सहयोग गर्ने प्रहरी नायव उपरिक्षक विक्रम लामाले वताए । उनले अगाडि भने, चाडपर्वको समयमा यात्रुहरूको भीड अत्यधिक हुने भएकाले हामीले यो विशेष पहल गरेका हौं । उक्त सेवा निरन्तर सञ्चालन हुनेछ र यात्रुलाई सजिलो, सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सहयोग पु¥याउनेछ । यात्रु सहायता कक्ष त्रिदेशिय मार्ग, त्रिशूली–छहरे–टोखा तथा मुख्य वजारमा लक्ष्यित गरेर राखिएको छ ।






