बिदुरः एउटै सहारा रहेको छोरोको आन्दोलनमा ज्यान गएपछि नुवाकोटको ओखरपौवामा रहेकी भगवती वलामीश्रेष्ठको मन सम्हालिन सकेको छैन् । उनी कहिले काठमाडौवाट गाउं आउने वाटो तीनपिप्लेको सडक र कहिले छोरोले पहिले ओहोरदोहोर गर्दै खेल्ने आंगन अनि करेसो नियाल्दै टोलाउंछिन् ।

यतिवेला उनको घरमा दिनहुंजसो छिमेकी, आफन्त, छोराका साथी आउंछन् अनि सवैले भन्छन–दैवको लीला, कोही ढिलो, कोही चौडो, अव मन वुझाएर वांच्नु वाहेक अरु के नै छ र? उमेरले ४४ लागेकी भगवती गाडी चलाएर मजदुरी गर्दै आफ्नो सहारा वनिरहेको एउटै छोरो वित्दा यहि सान्त्वनाले मात्रै के मन सम्हालिएला र? भन्दै आफन्तजनले थप सान्त्वना दिइरहेका छन् । सम्हालिएर वस्नु वाहेक विकल्प पनि त छैन अव उनीसंग, भगवानको प्यारो वनेको छोरो अव धर्तिमा आउने पनि होइन भन्दै आफुलाई वुझाइरहेकी पनि हुन्छिन् । उनका एकमात्र छोरा २७ वर्षिय शुभराज वलामीश्रेष्ठको गत भदौ २४ गतेको जेनजी पुस्ताले गरेको आन्दोलनमा गोली लागेर वीर अस्पतामा उपचारको क्रममा भदौ २७ गते निधन भएको भएको हो ।

उनका वावु रामकृष्ण वलामीश्रेष्ठ १२ वर्षदेखि सम्पर्कविहीन छन् । वावुले २०६३ सालमा सहकारीवाट लिएको र घरमा लागेको ऋण जसरी पनि तिर्छु आमै चिन्ता नलेउ भन्थ्यो, अव ऋण कसरी तिर्ने होला? उनका पति समेत सम्पर्कविहीन भई हराइरहेको धेरै वर्ष भइसकेको छ । शुभराजका वावु रामकृष्णले सहकारी, साहु तथा छिमेकीहरुसंग लिएको ऋण तिर्न नसकेर सम्पर्कविहीन हुन पुगेको मृतकको सानोवुवा सन्तवहादुर वलामीश्रेष्ठको भनाई छ । वावुले गरेको ऋण कमाएर तिर्छु भन्थ्यो, वावु (शुभराज) त देशलाई नै ऋण वोकाएर पो गयो त–एक्कासी दुःखि हुदै सन्तवहादुरको स्वर मलिनो हुन्छ ।
शुभराज तीन वर्षदेखि काठमाडौ वसेर साना खालको वोलेरो, जीप चलाउंदै आएका थिए । उनको चालक पेशावाट आएको आम्दानीले नै आमा छोरा र घर खर्च जेनतेन चलिरहेको थियो । शुभराजकी दुई भहिनीहरु सुनीता र सरिता बलामी दुबैको विवाह भइसकेको छ । गाउंमा १० वर्ष अगाडि भुकम्पले भत्केको घरमा आमा भगवती एक्लै वस्दै आएकी छन् । वहिनीहरु बिवाह गरेर गईसकेको र आमाको रेखदेख गर्दै आइरहेका शुभराज वलामीश्रेष्ठ जेनजी आन्दोलनका क्रममा वितेपछि घरमा एक्लै भएका आमा भगवतीलाई अव कसरी जीवन धान्ने भन्ने अर्को चिन्ताले पनि सताउन थालेको छ । उनको गाउंमा भएको खेतवारी पनि पहिले नै श्रीमानले धितो राखिसकेका छन्, कमाई खानका लागि भगवतीको सामु मेलापात र वनिवुतो मात्रै विकल्प वांकी रहेको गाउंलेहरु वताउंछन् ।

शुभराज बलामीश्रेष्ठका पिता रामकृष्ण बलामीश्रेष्ठ १२ बर्ष पहिलेदेखि सम्पर्क विहीन छन् । उनले सहकारीवाट घरजग्गा धितो राखेर लिएको ३ लाख ९० हजार रुपैया ऋणको सावा ब्याज गरि १७ लाख रुपैया भइसकेको छ । उनको अझै पनि अत्तोपत्तो छैन्, छोरा शुभराजले कमाएर ऋण तिर्छु भन्थ्यो । आफैं आन्दोलनमा मारियो–सानोवुवा सन्तवहादुर भन्छन् । शुभकराजकी आमा भगवती बलामीश्रेष्ठ गरिवी र अशिक्षाका कारणले भुईचालोबाट भत्केको घर पनि राहत लिन नसकेको वहिनी ज्वाई सन्तवहादुर सुनाउंछन् । उनका अनुसार शुभराजको वावु रामकृष्णले गाउंघरमा पनि ऋण लिएका थिए, तिर्न वांकी छ, उनको अत्तोपत्तो छैन, कमाएर ऋण तिर्छु भन्ने छोरो पनि आन्दोलनमा वित्यो ।
भुकम्पले भत्किएको घर हालसम्म पनि बनाउन नसकिएकोले झुप्रो टहरामै भगवतीको जीवन गुज्रिरहेको छ । भुईचालोले भत्केको गोठमा काठ दाउराले टालटुल गरेर शुभराजकी आमा भगवतीले केहि वाख्रा तथा कुखुरा पालेकी थिइन् । उनले पालेका ११ ओटा बाख्रा, बोका, खसी पनि गोठको प्वालबाट छिरेर एक महिना पहिले मगज विग्रेको कुकुरले टोकेर मारिदिएको सन्तवहादुले वताए । वालाजुको एक सहकारीमा जग्गा जमिन सबै धिटो राखेर ऋण लिएर डुवेपछि शुभराजका वावु रामकृष्ण सम्पर्कविहीन भएको १२ वर्ष वितिसकेको छ ।

शुभराजकी आमालाई केहि दयालु व्यक्ति, सामाजिक संघसंस्था पुरानो घरमै पुगेर सान्त्वना र केहि आर्थिक तथा भौतिक सामग्रीहरु सहयोगसमेत गरिरहेको पुर्व जनप्रतिनिधि जीतवहादुर वलामीको भनाई छ । भगवतीलाई पुर्नस्थापनाका लागि गाउंस्तरवाट विशेष पहल सुरु भइसकेको जीतवहादुरले वताए । भगवतीलाई घर वनाएर पुर्नस्थापित गराउने र उनको आम्दानीका लागि रोजगारीको आवस्यकता रहेको पुर्व वडाधयक्ष चन्द्रवहादुर वलामी वताउंछन् । भगवतीलाई चिनेजानेका र अन्य दाताहरुले घरमै पुगेर आर्थिक सहयोगसमेत गरिरहेका छन् ।

मृतक शुभराजका पिता रामकृष्ण वलामीले ऋण लिएको सहकारीमा पुगेर आइतवार वडाध्यक्ष पदमवहादुर वलामी, मृतकका सानोवुवा सन्तवहादुरलगायतले वास्तविकता वुझेका छन् । रामकृष्णले दुई पटक गरेर तीनलाख ९० हजार रुपैया ऋण दिएकोमा उक्त ऋणको सांवाव्याजसमेत गरि हाल १७ लाख रुपैया पुगिसकेको सहकारीको भनाई छ । सहकारीका पदाधिकारी तथा कर्मचारीहरुले पेनाल्टी र जरिवानावाहेक आठ लाख रुपैया तिरेमा सवै ऋण चुक्ता हुने वताएको मृतकका सानोवुवा सन्तवहादुर वलामीले वताए । मृतककी आमालाई पुर्नस्थापना र सहजीकरण पहिलो प्राथमिकता रहेको गाउलेहरु वताउंछन् ।

भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी युवाहरूले सञ्चालन गरेको आन्दोलनका क्रममा शुवराजको गोली लागेको चार दिनपछि वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनको पशुपति आयेघाटमा अन्तिम संस्कार गरिएको हो । बलामीसंगै नुवाकोटमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने दुई जना युवक रहेका छन् । यसअघि तादी गाउँपालिकाा धिरज श्रेष्ठको गोली लागेर ज्यान गएको थियो ।
सरकारले शुभराजलगायतले देखेको भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपालको सपना पूरा गर्न निरन्तर लाग्नुपर्ने परिवारजनको माग गरेको छ । नेपाल सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने र मृतक परिवारलाई क्षतिपूर्ति स्वरूप जनही १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।






