बिदुरः नेपाली समाजमा अहिले पनि छुवाछुत प्रथा कायमै रहेको छ । तर, नुवाकोटको वेलकोटगढीको निरन्जना गाउंले आफुलाई छुवाछुत नियन्त्रणको लागि नमूना गाउंको रुपमा परिचयका साथ अगाडि उभ्याइरहेको छ ।

२१ औं शताव्दीमा पनि कतिपय ग्रामीण समाजमा अझै पनि जातीय छुवाछुत र भेदभाव हुने गरेको पाइए पनि नुवाकोटको पुर्वी भेग वेलकोटगढीको निरन्जना गाउंमा धार्मिक सहिष्णुताको नमूना वन्दै गएको छ । उंचो तथा निंचो जात भनिने गरिएकोमा अव भेदभाव नभई सवै मिलेर एकै स्थानमा धार्मिक कार्य गरिदा नुवाकोटको यस नमूना कार्यको नुवाकोटमा मात्र नभई देशैभरसमेत चर्चा र महत्वको विषय वन्दै गएको छ ।
नुवाकोटको ऐतिहासिक वेलकोटगढीको निरन्जना मन्दिरमा यस वर्ष वडादशैंको लागि सवै समुदायका परिवार तथा व्राम्हण, क्षेत्री, आदीवासी, जनजाती तथा दलित समुदायको जमरा एकैस्थानमा राखिएको छ । सदियौंदेखिको दलित र व्राम्हण समुदायको पानी नचल्ने परम्परा तोड्दै नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीको मन्दिरमा यस वर्ष घटस्थापनाको दिन सोमवार जमरा राख्ने साइतको समयमा सामूहिक जमरा राख्ने परम्परालाई स्थानीय व्राम्हण, क्षेत्रि, नेवार, मगर, घर्ति, विभिन्न जनजाती तथा दलित समुदायका मिजार, विक, दमाई, नेपालीका परिवारले निरन्तरता दिएका हुन् ।

नेपाल एकिकरणको नुवाकोटवाटै सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि वेलकोटगढीमा रहेको निरञ्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई यस पटक वेलकोट र आसपासका दुई सय ६८ घरधुरीका व्राम्हण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको स्थानीय निरन्जना भगवती मन्दिरका मुल पुरोहित नरनाथ पौडेलले वताए । ३४ वर्षदेखि मुल पुरोहितको रुपमा रहेका पौडेलका अनुसार सो मन्दिरमा दुईसय ४३ वर्ष भन्दा लामो समयदेखि सामूहिक रुपमा जमरा राखिदै आएको छ ।
विदुरदेखि २५ किलोमिटर पुर्वमा रहको निरन्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्न तथा पुजा सन्चालन गर्नका लागि वेलकोटगढी नपाले यस वर्ष आवस्यक रकम उपलव्ध गराएको छ । सो नपाले वडादशैंका लागि निरन्जनामा पुजा सन्चालनका लागि यस वर्ष एकलाख ५० हजार रुपैया उपलव्ध गराएको हो । वेलकोटगढी नपाले गत वर्ष दुई लाख ५० हजार, गत २०८० सालमा तीनलाख, २०७९ सालमा तीन लाख, २०७८ सालमा दुई लाख, २०७७ सालमा दुई लाख, २०७६ सालमा दुई लाख, २०७५ सालमा एकलाख ४० हजार र २०७४ सालमा एकलाख २० हजार रुपैया उपलव्ध गराएको थियो । उक्त रकमवाटै सो मन्दिरमा नवरात्रको अवधिभर पुजापाठ हुदै आएको छ ।

सामूहिक रुपमा जमरा राख्ने कार्यले स्थानीय समुदायवीच नमूनाको अभियान भइरहेको पुजा समितिका सचिव कृष्णप्रसाद तिवारीको भनाई छ । उनका अनुसार स्थानीयवासीको माग अनुसार वेलकोटगढी र निरन्जना भगवतीको मन्दिर पुर्ननिर्माणको कार्य भएको छ । वेलकोटगढी ऐतिहासिक स्थल र धार्मिक पर्यटनको केन्द्रसमेत भएका कारण सोही स्थानको नामवाट वेलकोटगढी नपाको नामाकरण भएको हो । निरन्जना मन्दिर रहेको टाकुरो अर्थात् वेलकोटगढीकै नामवाट नौ वर्ष अगाडि वेलकोटगढी नपाको नामाकरण गरिएको थियो ।
धार्मिक सहकार्यको नदमूना वन्दै गएको वेलकोटगढीको संरक्षण, विस्तार तथा पहिचानको संरक्षणका लागि आफुहरु क्रियाशील रहेको जमरा राख्ने कार्यमा सहभागी मेयर जगतवहादुर गुरुङले वताए । निरन्जना मन्दिरको विकास तथा संरक्षणका लागि विशेष गुरुयोजना अनुसार अगाडि वढिरहेकोसमेत उनले वताए । पर्यटकिय उक्त स्थानको संरक्षण र समवद्र्धनका लागि विशेष कार्यहरु भइरहेको उपमेयर शिवप्रसाद दाहालको भनाई छ । घटस्थापनाको दिनदेखि मन्दिरमा सामूहिक रुपमा राखिएको जमराले गाउंमा छुवाछुतको प्रथा विरुद्ध राम्रो नमूनायुक्त सन्देश दिएको निरन्जना भगवती मन्दिर तथा गढी संरक्षण समितिका अध्यक्ष डिलवहादुर मानन्धरले वताए ।
स्थानीय विश्वकर्मा, मिजार, नेपाली थरका ३५ घरपरिवारले व्राम्हण, क्षेत्रि समुदायसंगै एकै स्थानमा जमरा राखेका छन् । निरन्जना मन्दिरमा सामूहिक जमरा राख्ने कार्य सुरु भएको दुई शताव्दी विते पनि स्थानीयवासीले गाउंको परम्परालाई सामूहिक रुपमा निरन्तरता दिइराखेको मुख्य पुजारी भोलाराज पौडेलको भनाई छ । प्रसिद्ध निरन्जना मन्दिरमा सामूहिक जमरा राख्नेदेखी पुजा संचालनका लागी गुठीको व्यवस्था भएपनि आजकल मन्दिरको गुठी जग्गावाट कुतवाली उठ्न छाडेकोकाले परम्परा धान्न कठिनाई पर्दै आएको मन्दिरका मुल पुरोहित नरनाथ पौडेलले वताए । यस वर्ष निरन्जना मन्दिरको मौलोसमेत फेरिएको छ ।

मन्दिरमा रहेको कोटघरमा वेलकोटको पाण्डेगाउं, सुन्दरवजार, वेलकोटगढी, धमले, मिजारगाउं, मैदानटोल, गैह्रीगाउंका अधिकांश घरहरुमा बढादशैंमा घरघरमा जमरा राखिदैन, सबै गाउंलेका जमरा एकै ठाउंमा राखिन्छ, त्यहीबाट पुजाआजा गरिने मन्दिरका उपासे मानवहादुर रानामगरले वताए । उनका अनुसार सो स्थानमा सामूहिक जमरा राखेका सर्वसाधारणले विजयादशमीको दिन आफूले राखेको जमरा झिकेर लैजाने परम्पराले हालसम्म पनि निरन्तरता पाएको छ ।
‘आफूले राखेमा कामको चपेटाको वेलामा जमराको नियमित स्याहारसुसार तथा विहान वेलुकी पुजा र त्यसको स्याहारसुसार गर्ने समस्या पनि छदैछ, त्यसैले सामूहिक रुपमा जमरा राख्दा धार्मिक सहिष्णुता, समानता हुने र एकै जनाले मात्र जमराको दैनिक पुजापाठ र स्याहार गर्न सक्ने भएकाले पवनि सामूहिक जमरा राखिएको सामूहिक जमरा राखेका प्रकाश पौडेलले वताए । जमरा राखेपछि सो मन्दिरमा उपासेको काम गरिरहेका व्यक्तिलाई जमराको नाइके राखिएको छ । सवै समुदाय मिलेर वसेका छौं, आआफ्नो रिति परम्परा मान्दछौं । तर, हामीहरु सामूहिक कार्यमा सदैव अगाडि रहेका छौं–व्राम्हण, क्षेत्रि तथा अन्य समुदायसंग सामूहिक रुपमा जमरा राखेपछि स्थानीय भीमवहादुर नेपालीले वताए ।

सामूहिक रुपमा जमरा राखेका पुर्णवहादुर सुनारले हामीले धर्म, संस्कृति तथा परम्परामा जात हुदैन भन्ने उदाहरण यसवाट दिएको वताए । पन्चेवाजा, नरवाजासहित पांच जना पुरोहितको टोलीले सामूहिक रुपमा जमरा राख्ने कार्य पुरा गरेका छन् । सो स्थानवाट नुवाकोटका अधिकांश ठाउंहरु देखिन्छन् । स्थानीय कृष्णप्रसाद तिवारी भन्छन्–अहिलेको जमाना आधुनिक भइसक्यो, जमरा राखेको दिनदेखि विजया दशमीसम्म विहानभरीको कामबाट मुक्ति पाएका छांै ।
‘हामीले विगत वर्षहरुमा प्रसादको रुपमा मात्र केही जमरा लैजाने गर्दथ्यौ, सामूहिक जमरा राखेका अर्का स्थानीय गणेश तिवारी भन्छन्– अघिल्लो वर्षबाट हामीले पनि जमरा राख्न थाल्यौ ।’ घटस्थापनाको दिन सोमवार दलित ३५ घर र व्राम्हण तथा क्षेत्रि समुदायसमेत गरि दुई सय ६८ घरधुरीले निरन्जना मन्दिरमा सामूहिक जमरा राखिएको छ ।

पछिल्ला केहि वर्षदेखि मन्दिरको परम्परा जोगाउन समस्या परेको स्थानीयको गुनासो आएको र परम्पराको सम्मानका लागि नगरपालिकाले गत वर्ष झैं यस वर्ष पनि आर्थिक सहयोग गरेर दलित तथा गैह्र दलितको समानताका लागि प्रोत्साहन गरेको जमरा राख्ने कार्यमा सहभागी भएका वेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले वताए ।
‘देशमा व्यापक रुपमा समावेशीताको कुरा उठिरहेको छ, समावेशी हुनुपर्ने बेलामा के के जातभात, सबै गाउलेले एकै ठाउमा जमरा राख्छौं, दलित र ब्राम्ह्णको मतलव हुदैन – स्थानीयवासी वयोवृद्ध घनश्याम थपलिया वताउंछन् । उनका अनुसार हामीले स्थानीय पहिचान, संस्कृतिको संररक्षण र सम्वद्र्धनका लागि यो सामूहिक अभियानमा सरिक भइरहेको छौं । सामूहिक जमराको कार्य हामी जीवनन्तता दिइरहेछौं–सामूहिक जमरा राखेका रमेश थपलिया वताउंछन् । नुवाकोटका नौ कोटमध्ये वेलकोट महत्वपुर्ण कोट हो ।

सामूहिक रुपमा जमरा राखेका अर्जुन नेपालीले आधुनिक जमाना र परम्पराको निरन्तरता नै आफ्नो गाउंको विशेषता भएको वताए । उनले नमूना गाउंको रुपमा स्थापित यस कार्यलाई सदै निरन्तरता दिने वताए । सामूहिक जमरा राखेपछि दैनिक अनिवार्य रुपमा पुजाआजा गर्नुपर्ने र जमराको स्याहार सुहार गर्ने समयसमेत वचत भएको स्थानीयवासी तथा मन्दिरका संरक्षण समितिका सल्लाहकार वृद्ध कालिवहादुर तिवारी बताउँछन् ।
निरञ्जना भगवती मन्दिर पौराणिक र शक्तिपीठको रुपमा परिचित छ । बडादशैंमा काठमाडौं हनुमानढोकाको वैद्धिक विधि अनुसार घटस्थापनामा जमरा राख्ने जुन महत्व छ, नुवाकोटको निरन्जना मन्दिरको सामूहिक जमरा राख्ने कार्य पनि उत्तिकै महत्व रहेको जीवराज कडेलको भनाई छ । मन्दिरमा बडादशैं अवधिभर विशेष पुजा सञ्चालन हुने गरेको मन्दिरका मुल पुरोहित नरनाथ पौडेलले बताए ।

बेलकोटगढी र निरञ्जना भगवती मन्दिर तथा गढीको संरक्षण र संस्कृतिलाई जोगाई राख्नको लागि युवाहरुको सक्रियता महसूस गरेर स्थानीय अगुवा, क्लव तथा संघसंस्थाले सरसफाइसहित विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । मन्दिरमा बडादशैं सञ्चालनको लागि पहिले गुठी जग्गाको कुतबालीबाट पुजाको सञ्चालन गर्ने चलन रहेपनि गुठी जग्गाबाट कर संकलन हुन छाडेपछि साविकको वेलकोट गाविसले वार्षिक ५० हजार रुपैयाँ अनुदान प्रदान गर्दै आएकोमा आठ वर्ष अगाडिदेखि वेलकोटगढी नपा स्थापना भएपछि नपा कार्यालयले लाखौं रुपैया आर्थिक सहयोग प्रदान गर्ने कार्य सुरु गरेको स्थानीयवासी वताउंछन् ।
वेलकोटगढीमा दलित र व्राम्हण समुदायको सामूहिक जमरा राखिनुका साथै विहीवार नुवाकोटको भैरवी, तुलजा भवानी, साततले दरवार तथा विभिन्न मठमन्दिरहरुमा पनि सामूहिक रुपमा जमरा राखिएको छ । रसुवाको कालिकास्थान, धुन्चेलगायतका स्थानमा पनि जमरा राखिएका छन् ।






