बिदुरः जनजीवन सहज र सामान्य वन्दै गएपछि नुवाकोटमा निषेधाज्ञा हटाइएको छ । छिमेकी रसुवामा पनि निषेधाज्ञा हटेको छ ।

गत सोमबारदेखि काठमाण्डौ उपत्यका लगायत देशभर भएको जेन–जी प्रदर्शन लगायतका घटनासंगै स्थिति मजवुत वनाउन जिल्ला सुरक्षा समितिले नुवाकोटमा जारी गरेको निषेधाज्ञा शनिवारबाट हटाइएको हो । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले नुवाकोट जिल्ला भर लागू हुनेगरी जारी गरिएको निषेधाज्ञा शनिवार बिहान ६ बजेदेखी हटाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । सरकार गठन भइसकेकोले अब सुरक्षा कमाण्ड नयाँ सरकारको जिम्मेवारी भएकोले निषेधाज्ञा हटाइएको विश्वास गरिएको छ । यससंगै सबै व्यापार व्यवसायहरु खोल्नुका साथै सार्वजनिक यातायात समेत सुचारु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएसँगै नुवाकोटमा पनि सार्वजनिक यातायात सुचारु भएका हुन् । जेन–जी पुस्ताको माग अनुसार नयां प्रधानमन्धि चयनसंगै निषेधाज्ञा हटाएपछि नुवाकोटका व्यवसायीले सार्वजनिक यातायात सञ्चालनमा ल्याएका हुन् । यससँगै काठमाडौं–त्रिशूली चल्ने यातायात सञ्चालनमा आएको छ भने नगर यातायात पनि सञ्चालनमा आएको छ । नुवाकोटको छिमेकी रसुवामा जारी निषेधाज्ञा शनिवारदेखि हटाइएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम गत भदौ २७ गते बिहान ६ बजेदेखि जिल्लाभर लागू भएको निषेधाज्ञा शनिवार बिहान ६ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए । जेन–जी आन्दोलनका गतिविधि तथा रसुवा कारागारबाट फरार रहेका कैदीबन्दीको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलता कायम राख्न निषेधाज्ञा लागू गरिएको थियो । जनजीवन मजवुत र सामान्य सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।





