बिदुरः चाडपर्वको आगमन र जेनजीको प्रदर्शन मत्थर भएसँगै नुवाकोटको जनजीवन सामान्य भइरहेको छ । यद्यपि, प्रशासनले निधेधाज्ञा भने थप गरेको छ ।
सवारीसाधनको चहलपहल शुक्रवारदेखि बढेको छ । मुख्य चाडपर्व आएसंगै बजारमा किनमेल गर्नेको पनि चहलपहल वढेको छ ।

सार्वजनिक यातायात नचलेपनि निजी सवारी साधनहरु सन्चालन भएका थिए । किनमेल र कार्यालय समयमा आवतजावत खुकुलो भएको थियो ।
नुवाकोट प्रशासनले शनिवार विहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । थप परिस्थिति मूल्याकङ्न गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।
नुवाकोटको सुरक्षा व्यवस्था चुस्त र विशेष वनाइएको छ । अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान र साँझपख निषेधाज्ञा खुकुलो पारिएको उनको भनाइ छ ।
नुवाकोटमा यसअघि दुई दिन लगातार कफ्र्यु लगाइँदै आएको थियो । जिल्लाभर निषेधाज्ञा तोकिएपनि बजारका अधिकांश पसलहरु खुलेका छन् ।
पसल खुलेपनि आम सर्वसाधारण घर बाहिर निस्किएका छैनन् । निषेधाज्ञाको अवधिमा पाँच जनाभन्दा बढी मानिस भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन लगायतका विरोधका कार्यक्रम गर्न नपाइने जनाइएको छ ।
अत्यावश्यक सेवाबाहेक सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मीका सवारी साधन, पर्यटक सवार सवारी साधन, मानव अधिकार र कूटनीतिक नियोगका सवारी साधनलाई भने निषेधाज्ञाको समयमा चल्न दिइएको छ ।
हवाई टिकट भएका यात्रुलाई पनि आवागमनमा सहजीकरण गरिएको प्रशासनले जनाएको छ । प्रशासनले यो आदेशको पालना नगर्ने जोसुकैलाई प्रचलित कानूनअनुसार कारबाही गरिने पनि जानकारी गराएको छ ।





