बिदुरः देशमा घटेको घटनाका कारण शान्ति सुरक्षा मजवुत वनाउने उद्धेश्यले नुवाकोटमा निषेधाज्ञा थप गरिएको छ । जसअनुसार शुक्रवार विहानसम्म नुवाकोटमा निषेधाज्ञा कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले जेनजी आन्दोलनका कारण भएको वर्तमन अवस्था र सम्भावित घटनाप्रति सचेत रहँदै निषेधाज्ञालाई जारी राखेको छ । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेद्वारा हस्ताक्षरित सूचनामा बुधबार बिहान ९ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्मका लागि नुवाकोट जिल्लाभर लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको उल्लेख छ । स्थानीय प्रशासन ऐन २०२८(संशोधनसहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
यसका साथै अति आवश्यकबाहेक सबै निजी तथा सार्वजनिक यातायातका साधन सञ्जालनमा पूर्ण रोक लगाइएको छ । उक्त अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेश पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । यस अवधिमा पाँच जनाभन्दा बढी मानिस भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन लगायतका विरोधका कार्यक्रम गर्न पाइने छैन् । अत्यावश्यक सेवाबाहेक सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मीका सवारी साधन, पर्यटक सवार सवारी साधन, मानव अधिकार र कूटनीतिक नियोगका सवारी साधनलाई भने निषेधाज्ञाको समयमा चल्न दिइएको छ । हवाई टिकट भएका यात्रुलाई पनि आवागमनमा सहजीकरण गरिने प्रशासनले जनाएको छ । प्रशासनले यो आदेशको पालना नगर्ने जोसुकैलाई प्रचलित कानूनअनुसार कारबाही गरिने पनि जानकारी गराएको छ । नुवाकोटको मुख्य सडक तथा अन्य स्थानमा नेपाली सेनासमेत खटिई शान्तिसुरक्षाका लागि विविध कार्यहरु गरिरहेका छन् ।





