बिदुरः जनताका कामहरु प्रभावकारी रुपमा सन्चालन गर्नका लागि सांढे तनि दशक पुरानो नुवाकोटको विदुर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीवीच कार्यसम्पादन सम्झौता गरिएको छ । यसवाट चालु आर्थिक वर्षमा जनपक्षिय कार्य हुने विदुर नपाले अपेक्षा गरेको छ ।

विदुर नपा कार्यालयमा आयोजित कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठले यसवाट योजना अनुसार विकास निर्माण तथा अन्य कार्यहरु गर्न सहज भएको वताए । उनले पहिचान र आवस्यकता अनुसार जनताका कार्य गर्न कर्मचारी तथा अन्य जनप्रतिनिधिहरुलाई निर्देशन दिए । कार्यक्रममा मेयर राजन श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलबीच पहिलो चरणमा आर्थिक वर्ष २०८२÷०८३ का लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ । लगत्तै पौडेल र विदुर नपाको अन्य शाखा प्रमुख तथा वडा सचिव बीच पनि सोही आवका लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो ।
कार्यक्रममा कर्मचारीहरूलाई सेवाग्राही केन्द्रीत दृष्टिकोण अपनाउँदै आफ्नो शाखा र वडाको कार्यसम्पादन चुस्त, दुरुस्त र प्रभावकारी बनाइ छिटो, छरितो तथा सर्वसुलभ सेवा उपलब्ध गराउन प्रमुख प्रशासकिय अधिकृत पौडेलले कर्मचारीहरुलाई निर्देशन दिए । यसका साथै, सम्झौता अनुसार कर्मचारीहरूले आफ्नो जिम्मेवारी पारदर्शी, उत्तरदायी र दक्षतापूर्वक पुरागर्ने विश्वास व्यक्त गरे । प्रमुख प्रमुख प्रशासकीय अधिकृत पौडेलले उक्त सम्झौतामार्फत विदुर नपाले योजना, कार्यक्रम र सेवा प्रवाहमा गुणस्तर, प्रभावकारिता र समयमै सेवा उपलब्धता सुनिश्चित गर्ने उद्देश्य लिएको बताए । पर्यटकिय विदुर नपामा १३ वटा वडा रहेका छन् ।





