बिदुरः ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित भएका नुवाकोटको तारकेश्वर गाउंपालिकाका घरपरिवारलाई खाद्य सामग्री प्रदान गरिएको छ । यसका साथै पहिरोका कारण प्रभावित लिखुका घरपरिवारलाई पनि राहत सामग्री प्रदान गरिएको छ । गत भदौ १० गते आएको प्रलयकारी बाढीले प्रभावित तारकेश्वर गाउंपालिका २ र ४ मा पीडित दुईसय २६५ घरपरिवारलाई खाद्यसामग्रीहरु बितरण गरिएको छ ।


यसबाट बाढीपहिरो पीडित परिवारलाई दैनिक जीवनयापनमा सहजता आएको छ । यता, नुवाकोटकै लिखु गाउपालिका–३ मा पहिरोबाट प्रभावित भई अस्थायी आश्रयस्थलमा बसिरहेका आठ घरपरिवारहरुलाई सहायता सामाग्री बितरण गरिएको छ । जसमा खाद्य /गैरखाद्य तथा सरसफाई सामग्री रहेको छ ।

पहिरोबाट प्रभावित भई बिस्थापित भएका घरपरिवारहरुलाई नेपाल रेडक्रस सोसाइटी नुवाकोटल सहायता सामाग्री बितरण गरेको सभापति हरि श्रेष्ठले जानकारी दिए । उनका अनुसार दैनिक जीवनयापनमा सहजता वनाउने प्रयास स्वरुप उक्त राहत वितरण गरिएको हो । यसका साथै त्रिशूलीमा आएको विनासकारी बाढीका कारण विदुर नगरपालिका –७ मा ठूलो क्षति पुग्नुका साथै धेरैले आफ्ना अभिभावक गुमाउनुभएको छ ।

बाढीले कतिपय परिवार घरबारविहीन भएका छन् । यस्तो जटिल परिस्थितिमा प्रभावित विद्यार्थी भाइबहिनीहरूको शिक्षामा सहजताका लागि विदुर ७ मा अध्ययनरत विद्यार्थीहरूलाई स्टेसनरी सामग्री सहयोग गरिएको छ । सामग्रीका कारण प्रभावित विद्यार्थीहरुलाई सुविधा पुगेको छ ।













