बिदुरः दुई दिनसम्म परेको अविरल भीषण वर्षात्का कारण पहिरो आएर विस्थापित भएका परिवारलाई नुवाकोटको पन्चकन्या गाउंपालिकाले राहत उपलव्ध गराएको छ । विस्थापित परिवार वसेको स्थानमा गएर गापाले राहत हस्तान्तरण गरेको हो । पहिराको कारण जोखिममा परी पन्चकन्या गापाले व्यवस्था गरेको पन्चकन्या अस्पतालमा कायम गरिएको अस्थायी बासस्थानमा बसोबास गरीरहेका पहिरो पीडित १४ घर परिवारहरूका लागि मंगलवार खाद्यान्न, पाललगायतका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो ।


पहिलो चरणमा पूर्णरुपमा विस्थापित भएका नौसहित १४ घरपरिवारलाई पञ्चकन्या गापाका तर्फवाट तेजबहादुर तामाङ रमेश, उपाध्यक्ष विमला पाठककेसी पन्चकन्या ३ का वडाध्यक्ष रामबाबु पराजुली, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोलगायतले राहत सामग्री हस्तान्तररण गरेका हुन् । यहि भदौ ४ र ५ गते परेको अविरल भीषण वर्षापछि विस्थापित घर परिवारलाई पहिलो चरणमा राहत सामग्री वितरण गरिएको गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशले वताए । उनले विपद्को कठिन समयमा प्रभावित घरपरिवारको साथमा स्थानीय सरकार रहेको वताउंदै वांकी प्रभावित परिवारलाइसमेत राहत वितरणको तयारी भइरहेको वताए ।

अविरल भीषण वर्षाका कारण पहिरो आएर पन्चकन्या गापा ४ का दुई घरपरिवार, पन्चकन्या ३ को पांच र पन्चकन्या ५ मा पनि पांच घर परिवार प्रभावित भएको गापा उपाध्यक्ष विमला पाठककेसीले जानकारी दिइन् । विस्थापित भई जोखिममा परेका तथा पन्चकन्या गापाले व्यवस्था गरेको अस्थायी बासस्थानमा बसोबास गरिरहेका ति पीडित परिवारहरूलाई विभिन्न प्रकारका राहत सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

























