बिदुरः क्यानाडा दिवसको स्मरणमा वृक्षरोपण गरिएको छ । प्रकति संरक्षणमा जोड दिदैै नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित लाँकुरीभञ्ज्याङमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, बेल्जियमका लागि कन्सुलर आङछिरिङ शेर्पा, वरिष्ठ सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठ, संघका अध्यक्ष निरोज मास्के तथा संघका अन्य पदाधिकारीहरूले विभिन्न प्रजातीका विरुवा रोपण गरेका थिए ।


कार्यक्रममा वृक्षरोपणका कारण प्रकृतिको संरक्षण र वातावरणको संरक्षणका सम्वन्धमा सहभागीहरुवीच अन्र्तक्रियासमेत गरिएको थियो । कार्यक्रममा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले वृक्षरोपणमार्फत प्रकृतिसँग अझै नजिकको सम्बन्ध स्थापित गर्न सबैलाई आह्वान गरे । उनले मानवलगायतका प्राणीको जीवनसंग वृक्षरोपण र प्रकृतिको निकै महत्व रहेको वताए ।

कार्यक्रममा बेल्जियमका लागि कन्सुलर आङछिरिङ शेर्पाले वनजंगलको संरक्षणले सम्पूर्ण जीवित प्राणीहरूको कल्याणमा योगदान पु¥याउनुका साथै वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्ने बताए । संघका अध्यक्ष निरोज मास्केले आज रोपिएको एउटा सानो बिरुवाले भविष्यमा हजारौँ मानिसलाई छहारी तथा लाभ प्रदान गर्न सक्नेमा जोड दिँदै आगामी दिनहरूमा पनि यस्ता विशेष कार्यक्रमहरू आयोजना गर्न संघ प्रतिबद्ध रहेको बताए ।





