बिदुरः नेपालकै कुमारीहरुमध्ये एक महत्वपुर्ण नुवाकोटको कुमारीका लागि नयां सिंहासन कायम गरिएको छ । पुजाआजा र विद्यिपुर्वक नयां सिंहासन प्रदान गरिएको हो । विदुर नगरपालिका–२ स्थित ऐतिहासिक साततले दरबार क्षेत्रमा कुमारी परम्परालाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले कुमारीको आकर्षक सिंहासन शनिवार कार्यक्रमकावीच हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


नुवाकोटमा सदियौंदेखि संस्कृति र मौलिक धरोहरको रुपमा स्थापित कुमारीको सिंहासन विशेष कार्यक्रमसहित हस्तान्तरण गरिएको हो । नुवाकोट कुमारीका लागि निर्माण गरिएको गद्दी विनायक फाउण्डेशन र सम्पदा संरचना महाअभियानको संयुक्त समन्वय तथा सहयोगमा नुवाकोट कुमारी मातामा समर्पण गरिएको हो । यसवाट नुवाकोटको पहिचान, संस्कृति तथा सम्पदालाई प्रवद्र्धनमा मद्धत पुगेको छ ।

विनायक फाउण्डेशनको पहलमा तयार गरिएको उक्त सिंहासन सम्पदा अभियन्ता रवि शाक्य र फाउण्डेशनका परिवारको सक्रियतामा निर्माण गरी शनिबार एक विशेष कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । उक्त सिंहासन हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. अचुतम लामिछाने, विदुर नगरपालिकाकी उपमेयर प्रभा वोगटी, विदुर २ का वडाध्यक्ष दिपक कायस्थलगायत विभिन्न सरोकारवाला, अन्य जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. लाममिछानेले नुवाकोट सम्पदा र संस्कृतिका रुपमा धनी रहेको वताए ।

उनले धार्मिक पर्यटनमार्फत नुवाकोटको विकास र परिवर्तनमा आफुले विशेष कार्य गर्ने वताएका छन् । झण्डै तीन महिनाको समय लगाएर निर्माण गरिएको उक्त सिंहासनको लागत कुल २० लाख रुपैयाँ रहेको फाउण्डेशनका अध्यक्ष विधान शाहीको भनाई छ । उक्त आशन स्थान पूर्ण चाँदीसहित अन्य भागमा, सुनको जलप, पित्तल र तामाको प्रयोग गरी तयार गरिएको वडाध्यक्ष दीपक कायस्थले वताए ।

उनका अनुसार उक्त सिंहासन ललीतपुरका कालिगढ रमेश शाक्यले निर्माण गरेका हुन् । फाउन्डेसनले उक्त सिंहासन सहयोग स्वरुप उपलव्ध गराएको हो । नुवाकोटको प्रसिद्ध भैरवी मन्दिरमा झण्डै एकसय ५० वर्ष पुरानो कुमारी परम्परालाई निरन्तरता दिँदै गत असोजमा नयाँ कुमारी देवीको विधिवत् स्थापना गरिएको थियो ।

भैरवी माविको बालविकास कक्षामा अध्ययनरत ६ वर्षीया छात्रा प्रार्थी डंगोललाई आश्विन शुक्ल प्रतिपदादेखि कुमारी देवीका रूपमा पदस्थापन गरिएको थियो । यसअघि कुमारी रहेकी जेनिशा डंगोलको अवधि सामाजिक परम्पराअनुसार समाप्त भएपछि प्रार्थीलाई नयाँ कुमारीका रूपमा चयन गरिएको थियो । पुजारी हरिमानसिंह डंगोललगायतको टोलीले करिब ६ घण्टासम्म पूजाआजा गरी परम्परागत विधिअनुसार प्रार्थीलाई कुमारी देवीका रूपमा स्थापना गरेका थिए ।

सदियौं पुरानो कुमारी परम्परालाई संरक्षण गर्दै आधुनिक पहलमार्फत् नुवाकोटमा सांस्कृतिक धरोहरको पुनर्जीवन भएको स्थानीयवासी महेन्द्र श्रेष्ठले बताए । कुमारीको सिंहासन तयार गरी हस्तान्तरण गरेकोमा धार्मिक, सम्पदा अभियन्ता रवि शाक्य र विनायक फाउण्डेशन परिवारलाई नुवाकोटवासीले आभार व्यक्त गरेका छन् ।

यस प्रकारको सामाजिक कार्यमा हातेमालो गरेकोमा विनायक फाउन्डेसन र त्यसका अध्यक्ष विद्यान शाही तथा रवि शाक्य लगायतलाई बिदुर नगरपालिका, बिदुर २ वडा कार्यालय तथा समग्र नुवाकोटबासीका तर्फबाट आभार व्यक्त गर्दै सामाजिक, धार्मिक, सम्पदाको संरक्षण र सम्वद्र्धनमा सहकार्यको लागि अनुरोध गरेको छ ।












