बिदुरः विद्यार्थीहरुलाई पोषण अवस्थाका सम्वन्धमा जानकारी गराउने उद्धेश्यले नुवाकोटको तादी गाउँपालिका खरानीटारमा पोषण स्थितिमा सुधार विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ । प्रतियोगितामा विजेता तथा उपविजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।


तादी गाउँपालिका खरानीटारको शिक्षा शाखाद्वारा आयोजना गरिएको “पोषण स्थितिमा सुधारः देश विकासको आधार” विषयक वक्तृत्वकला प्रतियोगितामा विज्ञान माविका छात्र बिकास तामाङले प्रथम स्थान हासिल गरे । दोस्रो सुन्दरा माबिका प्रितम तिवारी र तृतीय स्थान तादी भ्यु एकेडेमीका उत्सव जोशी भए ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई तादी गापाका अध्यक्ष सन्तमान तामाङले नगदसहित पुरस्कृत गरे । उनले विद्यार्थीहरुले जान्नु पर्ने विषयमध्ये पोषण पनि एक रहेको र उनीहरुलाई यस कार्यक्रममार्फत स्वास्थ्य प्रवद्र्धनको सचेतना प्रदान गरिएको वताए ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय भएकाले क्रमशः नगद ६ हजार, पांचहजार र चार हजार नगद पुरस्कारका साथै स्टेशनरी सामग्रीहरु पुरस्कार पाएको शिक्षा शाखाले जनाएको छ । कार्यक्रममा सहभागी विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पोषण र स्वास्थ्यसम्बन्धि वाक क्षमता प्रस्तुत गर्दै आफ्नो सक्रिय सहभागिता जनाएका थिए ।






