बिदुरः प्रतिनिधि सभाको निर्वाचनमा विहीवार नुवाकोटमा मतदान सकिएसंगै सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन कार्य भइरहेको छ ।नुवाकोटको क्षेत्र नं. १ को खरानीटारस्थित निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं. २ को विदुरस्थित जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मातहतको मतदान केन्द्रको मतपेटिका संकलन कार्य भइरहेको छ ।


दुवै क्षेत्रमा समेत गरि कायम गरिएका दुई सय ९४ मतदान केन्द्रमा पठाइएका सातसय २० थान मतपेटिका संकलन कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार सवै मतपेटिका संकलन भएपछि आवस्यक तयारी तथा प्रक्रिया पुरा गरेर मतगणना सुरु गरिने तयारी जना रहेको छ ।

नुवाकोटको मतपेटिका संकलन कार्य विहीवार विहानसम्म लाग्ने जनाइएको छ । सवै मतपेटिका संकलन गरेपछि मात्रदुवै क्षेत्रको मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाटोघाटोको असहजता र रात परेका कारण मतपेटिका संकलन कार्यमा केहि ढिलाई हुने जनाइएको छ । विहीवार भएको मतदानवाट संकलित मतपेटिका क्षेत्र नं. १ को खरानीटारस्थित तादी गाउंपालिका भवन र क्षेत्र नं. २ को विदुरस्थित जिल्ला अदालतमा उच्च सुरक्षाघेराका साथ भण्डारण गरिएको छ ।












