बिदुरः नुवाकोटको दक्षिणी भेगमा रहेको कोल्पुटारका एक वृद्धले विहीवारको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । बेलकोटगढी नगरपालिका–५ का १०४ वर्षीय यज्ञप्रसाद रिमालले विहीवार सहयोगीको मद्धतले मतदान गरेका हुन् । बेलकोटगढी नपा ५ स्थित कोल्पुटारका वृद्ध रिमाल सोही वडामा रहेको गणेश आवि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

नुवाकोटकै सवैभन्दा ज्येष्ठ उमेर भएका रिमालले देशको रक्षाका लागि जनप्रतिनिधि चुन्ने प्रजातान्त्रिक प्रक्रियालाई साथ दिदै मतदान केन्द्रमा पुगेर मतदान गरेको वेलकोटगढी नपा ५ का वडासदस्य गोकर्ण नेपालले जानकारी दिए । रिमालले हालसम्म २००७ सालदेखि २० पटकभन्दा बढी निर्वाचनमा मतदान गरिसकेको जनाइएको छ ।

मतदानमा उनको सक्रिय सहभागिताले प्रजातान्त्रिक प्रक्रियाप्रति जेष्ठ नागरिकको पनि उच्च सम्मान र जिम्मेवारी देखाएको स्थानीयले बताएका छन् । नुवाकोटकै जेष्ठ नागरिकमध्येका एक रिमाललाई मतदान केन्द्रसम्म पुग्न उनका नाती उत्तम रिमालले सहयोग गरेका थिए । रिमालसंगै उनकी जीवन संगिनी ९४ बर्षिया मनकुमारी रिमालले पनि मतदान गरेकी हुन् ।





