बिदुरः प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा मतदानस्थल पहिचान गरिएको छ । पहिचान गरि अवस्थाको वर्गिकरण गरिएको छ । दुई वटा क्षेत्र रहेको नुवाकोटमा आसन्न निर्वाचनका लागि एकसय ३२ मतदानस्थलमा दुईसय ९४ मतदान केन्द्र कायम गरिएका छन् ।


एक मतदान केन्द्र केन्द्रीय कारागार चण्डीपोखरीमा कायम गरिएको छ । नुवाकोटमा रहेका दुइलाख ४७ हजार आठसय ६८ मतदाताका लागि एकसय ३२ मतदानस्थलमा दुईसय ९४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । वन्दीहरुका लागि विदुर नपा ६ चण्डीपोखरीस्थित केन्द्रीय कारागार नुवाकोटमा एउटा मतदान केन्द्र कायम गरिएको छ ।

मतदानस्थलको अवस्थाको मुल्यांकन गरि तीन प्रकारको वर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार ५२ मतदानस्थल अति संवेदनशील, ५७ वटा स्थल संवेदनशील र २३ वटालाई सामान्य मतदानस्थलको रुपमा निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रजिअ रेग्मीले वताए ।

मतदानस्थलको वर्गिकरण गरि आवस्यक सुरक्षा तयारी सुरु गरिसकिएको उनको भनाई छ । निर्वाचनमा नुवाकोट १ मा १८ र नुवाकोट २ मा १२ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

निर्वाचन नजिकिदै जांदा जिल्ला सुरक्षा समितिले मतदानस्थलको अवस्थाका सम्वन्धमा स्थलगत अनुगमन सुरु गरेको हो । फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा मंगलवार प्रजिअ रेग्मीको नेतृत्वमा ६ मतदानस्थलका १५ वटा मतदान केन्द्र निरीक्षण गरिसकिएको रेग्मीले जानकारी दिए ।

बिदुर नगर क्षेत्रका केन्द्रहरुको अनुगमन कार्य गरिएको हो । मतदानस्थल र सुरक्षासम्बन्धि जानकारी लिनुका साथै सुरक्षा योजना निर्माण तयारीका लागि अनुगमन गरेको हो ।

अन्य मतदानस्थलमासमेत अनुगमनलाई निरन्तरता दिइने समितिले जनाएको छ । निर्वाचनका लागि आवश्यक सुरक्षा योजना तय गर्न र मतदानका सामग्रीहरु ढुवानीलगायतका कार्य सहज बनाउन अनुगमन गरिएको हो ।





