बिदुरः नेपालका क्रियाशील चलचित्र छायाँकारहरूको भेला सम्पन्न भएको छ । भेलाले पेशागत संगठन ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गरेको छ ।

वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानको सभापतित्वमा सम्पन्न भेलाले एशोसिएसनको तदर्श समिति चयन गरेको हो । उक्त भेलनले तदर्थ समितिको संयोजकमा गौरीशंकर धुँजुलाई चयन गरेको छ ।

उपाध्यक्षमा राजेश श्रेष्ठ, महासचिवमा विष्णु कल्पित, सचिवमा नरेन्द्र मैनाली, कोषाध्यक्षमा आलोक शुक्ला चयन भएका छन् । तदर्थ समितिको सदस्यहरुमा चिन्तनराज भण्डारी, सीताराम श्रेष्ठ, उमङ्ग शाही, निरज पौडेल र निशाल पौडेल चयन भएका छन् ।

भेलाले चलचित्र क्षेत्रका विभिन्न पेशागत संघ–संस्थासंगै छायाँकारहरूको आफ्नै संस्था नेपाल सिनेमाटोग्राफर एशोसिएसन गठन गरिएको वरिष्ठ छायांकार पुरुषोत्तम प्रधानले जानकारी दिए । उनले भेलाले छायांकारको आफ्नै संस्था नहुँदा साझा आवाज नउठेको निष्कर्षसहित पेशागत हकहितको संरक्षण तथा विकासका लागि गैह्रसरकारी संस्थाको रूपमा ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ स्थापना गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णयसमेत गरेको वताए ।

संस्थाको औपचारिक दर्ता नहुँदासम्मका लागि भेलाले तदर्थ समिति गठन पनि गरेको हो । भेलाले आगामी ६ महिनाभित्र संघको अधिवेशन सम्पन्न गरी नयां कार्यसमिति चयन गर्ने निर्णयसमेत गरेको छ ।





