बिदुरः राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ नेपाल नुवाकोटले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । संघले प्रथम जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।
दक्षता एवं योग्यताको विकास भन्ने मूल नाराका साथ आयोजित हाजिरीजवाफ प्रतियोगिता यहि भदौ २७ गते बट्टारमा सन्चालन गरिने विदुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक युवा सङ्घका अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका प्रथम हुने विद्यालयले नगद १० हजार, द्वितीयले ७ हजार र तृतीयले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने जानकारी दिए ।
प्रतियोगितामा ५० भन्दाबढी विद्यालयको सहभागिता हुने लक्ष्य रहेको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने विद्यालयलाई तीनजना विद्यार्थीको नाम यही भदौ २४ गते मंगलवारसम्म राष्ट्रिय युवा संघ, नुवाकोटमा उपलब्ध गराउन आग्रह गरिएको छ ।
प्रतियोगिता सञ्चालनको लागी सुभेनियर बोर्डिङ स्कुलसंग समन्वय गरिएको र सञ्चालनको जिम्मेवारी पनि सोही विद्यालयका शिक्षक काजी खानलाई दिइएको छ । खानले प्रतियोगितामा सहभागी विद्यालयहरुबाट पहिलो चरणमा उत्कृष्ट १० विद्यालय छनोट गरिने जानकारी दिए ।
त्यस पश्चात उत्कृष्ट चार विद्यालय छनोट गरिने फाइनल प्रतियोगिता सञ्चालन हुने बताए । बट्टारमा रहेको बाजेको सेकुवा हलमा हुने प्रतियोगिताको अन्तिममा उत्कृष्ट चार विद्यालयहरुबीच श्रव्यदृश्य, बजर र ¥यापिड फायर लगायतका चरणमा प्रतिस्पर्धा हुने खानले बताए ।
प्रतियोगितामा उत्कृष्ट १० मा छनोट भएका विद्यालयको टिमलाई सोधिने प्रश्नहरु नुवाकोटका १२ वटै तहका स्थानीय विषयवस्तु, लोकसेवा, पछिल्लो एकवर्षको समसामयिक विषयवस्तु, नेपालको ईतिहास र विश्व खेलकुदसंग सम्बन्धित विषयमा रहने छन् । दर्ताको सहभागीको आधार पश्चात उत्कृष्ट चार विद्यालय छनोट भएपछि अडियो राउण्ड, दृष्य राउण्ड, बजर राउण्ड, ¥र्यापिङ फायर राउण्डका आधारमा प्रश्नहरु सोधिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।






