बिदुरः नेपाल चलचित्र कलाकार संघको ३७ औँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । दुई दिनसम्म मनाइएको दिवस अन्र्तगत वृक्षरोपण, चलचित्र अन्र्तक्र्रिया, परिसम्बाद, योगा तथा ध्यान गरिएका छन् ।

संघको ३७ औँ स्थापना दिवसअन्तर्गत चलचित्र विकास बोर्डको हलमा चलचित्रको वर्तमान अवस्था, दर्शक तथा आवस्यकताका सम्वन्धमा विशेष अन्र्तक्रिया तथा परिसंवाद सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख वक्ता तथा महानायक राजेश हमालले आफ्नो ३६ वर्ष लामो निरन्तर चलचित्र यात्राको अनुभव सुनाउंदै निरन्तर लगाव, मेहनत र सहभागिता जरुरी रहेको वताए । उनले आमदर्शकहरुको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार व्यक्त गरे । महानायक हमालले प्रत्येक दशकमा दर्शकको मनोवृत्तिमा परिवर्तन आउने उल्लेख गर्दै, हाल विश्वव्यापी प्रविधिक क्रान्तिले चलचित्र उद्योगमा नयाँ चुनौती र अवसर दुवै सिर्जना गरेकोसमेत बताए ।
आमजनमानसको दृष्टि परेको कुनैपनि क्रिृयाशील ब्यक्ती दृष्टिमा रहन्छ । तर, आम जनमानसको मनमा बसेको ब्यक्ति सधै जीबन्त रहन्छ र लोकप्रियता हासिल गर्दछ हमालले भनाई छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले एक वर्षका वीचमा चलचित्रको उत्थानका लागि विविध कार्यहरु गरिरहेको वताए । उनले वोर्डको हालका योजना र कार्यसमिक्षा प्रस्तुत गर्दै नेपाली चलचित्रलाई उचाइमा पु¥याउन र रोजगारी सिर्जना गर्न महानायक राजेश हमालले खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले हमाललाई “महानायक” भन्नेमा कुनै दुईमत नरहेको उल्लेख गर्दै भने, “उनले निर्देशक, निर्माता, कलाकार वा प्राविधिक को भन्ने नसोची लगातार काम गरे, जसले गर्दा धेरै कलाकार तथा प्राविधिकले रोजगारी पाए र संकटको घडीमा समेत चलचित्र क्षेत्रलाई जोगाउन मद्धत भयो ।”कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा विशिष्ट कलाकार मोहन निरौलाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । निरौलाले चलचित्र क्षेत्रमा लैङिक समानता, पारिश्रमिक विभेद, हिंसा, चलचित्रमा बिदेशी लगानी, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बिस्तार ,केहि चलचित्रले प्रदर्शनको शो नपाएको विषयहरू लगायत नेपाली चलचित्र र पेशाकर्मिको हिजो, आज र भोलिको अवस्थाबारे वक्ताहरुलाई जिज्ञासा राखेका थिए ।
कार्यक्रमा चलचित्र विश्लेषक तथा निर्देशक डा. घनश्याम खतिवडाले चलचित्रमा भाषाको महत्वबारे विचार व्यक्त गरे । उनले सहकार्यवाटै नेपालको चलचित्र क्षेत्रले सवै विषयको समिश्रण गरेर विदेशमा पनि छुट्टै पहिचान वनाउन सक्नेसमेत वताए । सोही कार्यक्रममा नायिका अन्जना बराईलीले चलचित्र क्षेत्रमा प्रवेश गर्दा आफूले कुनै पनि प्रकारको ह्यारेस्मेन्ट नभोगेको अनुभव सुनाउँदै नयाँ महिला कलाकारलाई “डराउनुपर्ने कारण छैन, आत्मविश्वासका साथ अघि बढ्नुपर्छ” भन्ने सन्देश दिइन् ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले चलचित्र चलिरहेको बेला कलाकारको बोली र व्यवहारले दर्शकमा पर्ने प्रभावबारे सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रमको संयोजकमा सबिन श्रेष्ठ, व्यवस्थापकमा निर्देशक देवेन्द्र पाण्डे तथा कलाकार गोपाल ढकाल ‘छन्दे’ले सञ्चालन गरेका थिए ।
कार्यक्रम आयोजक संघका अध्यक्ष मोहन निरौलाले संघ सदैव चलचित्र क्षेत्रको उत्थान र विकासमा सहकार्यका लागि तत्पर रहने प्रतिवद्धता व्यक्त गरे । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द लगायत चलचित्र क्षेत्रका अग्रज व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
यसअघि, स्थापना दिवसको पहिलो दिन रबिन्द्र खड्काको संयोजकत्वमा राजधानीको भण्डारखालमा वृक्षरोपण कार्यक्रम गरिएको थियो । स्थापना दिवसको तेस्रो दिन सोमवार वरिष्ठ उपाध्यक्ष शिबहरी बैरागी नेपालको संयोजकत्वमा जीवन बिज्ञान प्रतिस्ठान योगा ध्यान कार्यक्रम सम्पन्न भयो । योग र ध्यान कार्यक्रमको सहजताका लागि सुनील कटुवाल, गोपाल ढकाल र रोशन श्रेष्ठको सक्रियता रहेको थियो । दिवसकै अवसरमा महानायक राजेश हमालले पहिलोपटक चलचित्र विकास बोर्डको स्थलगत अवलोकन गरेका छन् । चलचित्र कलाकार संघको वार्षिकोत्सव कार्यक्रममा हमालले अध्यक्ष दिनेश डिसीबाट विशेष पुस्तक र हुलाक टिकट उपहारस्वरूप पाएका छन् ।
हमालले बोर्डको अवलोकन गर्दै पछिल्लो एक वर्षको कार्य प्रगतिप्रति प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । कलाकार संघको वार्षिकोत्सव कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हमाल कार्यक्रमपछि वोर्डका अध्यक्ष दिनेश डिसीको कार्यकक्षसम्म पुगे ।डिसीले कार्यालयमा स्वागत गर्दै नेपाललाई चलचित्र छायांकनको प्रमुख गन्तव्यका रूपमा चिनाउने विशेष पुस्तक ‘फिल्मीङ ईन नेपाल’ र नेपाली चलचित्रको इतिहास समेटिएको पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ उपहारस्वरूप प्रदान गरे । डीसीले कार्यक्रममा नेपाल सरकारले प्रकाशन गरेको पहिलो नेपाली फिल्म ‘आमा’को पोष्टर अंकित हुलाक टिकट समेत उपहार दिएका थिए ।
उक्त अवसरमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री अन्जना बराइलीसहित अन्य फिल्मकर्मी सहभागी थिए । महानायक हमालले चलचित्र विकास बोर्डले पछिल्लो एक वर्षमा गरेको कार्य प्रगतिप्रति सम्मान प्रकट गर्दै बोर्डलाई धन्यवाद ज्ञापन गरे ।
अध्यक्ष डीसी र अभिनेता हमालले आफ्नो करिअरमा २२ फिल्म र विभिन्नटिभी कार्यक्रममा सँगै काम गरेको अनुभव तथा कुराकानी शेयर गरेका थिए ।





