बिदुरः नुवाकोटको विदुर नगरपालिकामा आठ वटा केन्द्रमार्फत क्षयरोगीको उपचार भइरहेको छ । १३ वटा वडा रहेको विदुर नपामा ७७ जना क्षयरोगी रहेको पहिचान भएको छ । विदुर नपाको स्वास्थ्य शाखाको आयोजनामा सन्चालित “क्षयरोग वार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम” मा उक्त जानकारी दिइएको हो । उक्त कार्यक्रमको विदुर नपाकी उपमेयर प्रभा बोगटीले उद्घाटन गर्दै मानवीय स्वास्थय सुिरक्षाको मजवुतीका लागि विदुर नपाले स्वास्थय सचेतना सम्वन्धि विविध कार्यक्रम गरिरहेको वताइन् ।

विदुर नपामा पहिचान भएका ७७ जना क्षयरोगीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार सेवा प्रदान भइरहेको छ । विदुर नपामा प्रत्यक्ष निगरानीमा क्षयरोगका विरामीहरुलाई उपचार गरिने केन्द्र आठ वटा रहेका छन् । जसमा चारघरे स्वास्थ्य चौकी, खड्गभन्ज्याङ, कल्याणपुर, तुप्चे, नुवाकोट र गेर्खु स्वास्थ्यचौकी, शहरी स्वास्थ्य केन्द्र घण्टाघर, डट्स क्लिननिक त्रिशूली अस्पताल रहेको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए । कार्यक्रममा विदुर नपा सामाजिक बिकास समितिका संयोजक तथा विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, जनस्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन कृष्णप्रसाद रिजाल विदुर नपाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारी तथा क्षयरोग उपचार केन्द्र संचालन रहेका स्वास्थ्य केन्द्रका इन्चार्ज तथा क्षयरोग फोकल पर्सनहरूको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा विदुर नपाभित्र क्षयरोग नियन्त्रण तथा रोकथामका क्षेत्रमा विगतमा भएका उपलब्धि, सामना गर्नुपरेका चुनौतीहरू तथा आगामी दिनमा यसको प्रभावकारी नियन्त्रण कार्ययोजनाका सम्वन्धमा छलफल गरिएको थियो । यसका साथै, प्रत्येक क्षयरोग उपचार केन्द्र संचालन रहेका स्वास्थ्य संस्थाबाट संकलित तथ्याङ्कको समिक्षा गर्दै विश्लेषण समेत प्रस्तुत गरिएको थियो ।





