बिदुरः ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीका कारण ज्यान गुमाएकाहरुको सम्झनामा नुवाकोटमा सामूहिक रुपमा श्रद्धान्जली गरिएको छ । बाढी पीडित समुदाय तथा विद्यालयलाई आर्थिक सहयोगसमेत गरिएको छ । त्रिशूलीमा आएको प्रलयकारी बाढीबाट प्रभावित क्षेत्र विदुर नगरपालिका–१ त्रिशूली बजारमा जापानी बौद्ध धर्मावलम्बी गुरुहरूद्वारा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरुको सम्झनामा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना सहित स्वस्ति शान्ति पूजा–पाठ गरिएको हो ।


उक्त कार्यक्रममा बाढी पीडितहरुका साथै विभिन्न समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो । विनासकारी बाढीबाट प्रभावित पीडित परिवारहरूलाई ४१ लाख रुपैया नगद आर्थिक सहयोग प्रदान गरिएको छ । विदेशी आँखा रोग विशेषज्ञमार्फत त्रिभुवन त्रिशूली माविमा अध्ययनरत बाढीपीडित विद्यार्थीहरूलाई पांचलाख ४३ हजार नगद सहयोग तथा विद्यालयलाई दुई लाख रुपैया आर्थिक सहयोग वितरण गरेका छन् ।

दुःखद समयमा पीडित परिवारहरूलाई सहयोग पु¥याउनुका साथै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित गरिएको पुण्य कार्यले मानवता, करुणा र सहयोगको भावना उजागर गरेको स्थानीयवासीको भनाई छ । बाढी प्रभावित त्रिभुवन त्रिशूली माविलाई दाताहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकाको अस्टिन, टेक्सास निवासी रितु बस्नेतको संयोजनमा डा. किम र उनको टोलीले विद्यालयलाई २ लाख तथा बाढी प्रभावित ७० जना विद्यार्थीलाई जनही ७ हजार रुपैयाका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

विपद्का कारण प्रभावित विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा सहयोग पु¥याउने उद्देश्यले गरिएको उक्त मानवीय सहयोगले विद्यार्थीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ । बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउंपालिका प्रभावित भएको हो ।













