बिदुरः लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटको विभिन्न स्थानमा सरकारी उच्च अधिकारी टोलीले स्थलगत निरीक्षण गरेका छन् । उनीहरुले पीडितहरुका लागि स्थायी आवासको प्रक्रिया सुरु गरिने जनाएका छन् । बाढी प्रभावितहरको अवस्था बुझ्न नुवाकोटको पीडितहरु राखिएको अस्थायी आश्रयस्थलमा उच्च सरकारी अधिकारीहरू पुगेका हुन् ।


राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. बिशालकुमार भण्डारी, आइएफआरसिका नेपाल प्रमुख डेभिड फिसर, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित नुवाकोटका सुरक्षा निकायका प्रमुखहरुले शुक्रबार बाढी प्भावित स्थलहरुको अवलोकन गरेका हुन् । टोलीले बिदुर नगरपालिका ५ को बिभिन्न स्थानमा रहेको बाढी पीडितहरु राखिएको अस्थायी आश्रय स्थलहरुको अबलोकन गरि बाढी प्रभावितहरुको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् । अवलोकनका क्रममा अधिकारीहरूले भोटेकोशी बाढीबाट प्रभावितहरूको पछिल्लो अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा आश्रयस्थलमा उपलब्ध सेवा–सुविधाबारे जानकारी लिएको रेडक्रस नुवाकोट शाखा सभापति हरी श्रेष्ठले जानकारी दिए ।

विपद् प्रभावितको अवस्था बुझ्दै उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासलाई प्रभावकारी बनाउन अधिकारीहरूबाट गरिएको अवलोकनलाई महत्वको रुपमा लिइएको छ । टोलीले बिदुर नपा ५ मा रहेको आश्रयस्थलहरुको अवलोकन समेत गरेको थियो । त्यसक्रममा बाडाकोचौतारा, कोदोबारी र तल्लोपिपलटारमा आश्रय लिईरहेका प्रभावितहरुले बर्तमानको प्रमुख समस्या भनेको पुनर्बास नै भएकाले चाँडै त्यसका लागि आवश्यक प्रकृया सुरु हुनुपर्ने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुका लागि स्थायी आवास निर्माणको प्रक्रिया चाँडै सुरु हुने वताए ।

प्रभावितहरुको एकिन तथ्याँक प्राप्त भइसकेपछि आवश्यक कार्यबिधि बनाएर स्थायी आवास निर्माणको प्रकृया सुरु गरिने डा. उप्रेतीको भनाई छ । डा. उप्रेतीले बाढी प्रभावितहरुका लागि तत्काल अस्थायी आवास निर्माणको काम सुरु गरिने र स्थायी आवासमा प्रभावितहरु सरेपछि अस्थायी आवासलाई समुदायले नै संचालन गर्ने गरि ‘होमस्टे’का रुपमा बिकसित गरिने समेत प्रष्ट्याए । प्रमुख कार्यकारी डा. उप्रेतीले बाढी प्रभावितहरुको पुनस्र्थापना कार्यलाई सरलीकृत बनाउने र बिकास साझेदारहरुसंगको साझेदारीलाई प्रभावकारी बनाउने गरि कार्यक्रमहरु तर्जुमा गरिएको समेत उल्लेख गरे ।

रेडक्रसका केन्द्रीय अध्यक्ष डा. बिशालकुमार भण्डारीले रेडक्रसको अन्तराष्ट्रिय गरीमा र साखलाई उचो बनाउँदै प्रभावितहरुको पक्षमा क्रियाशिल हुनुपर्नेमा जोड दिँदै पारदर्शी र प्रभावकारीरुपमा हुने काममा स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । रेडक्रसको स्थापना नै मानवीय सेवाका लागि भएकाले बाढी प्रभावितहरुले विपदमा रेडक्रस भन्ने अनुभूति गर्ने गरी काम गर्न रेडक्रसकर्मीहरुलाई निर्देशनसमेत दिए । कार्यक्रममा नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले गत भदौ १० गतेको बिनासकारी बाढीपछि रेडक्रस मार्फत भएका गतिबिधि, चुनौति र आबश्यक कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।












