बिदुरः चाडपर्वको वेला नुवाकोटको छहरे बजारमा पसल तोडफोड गरी चोरी भएको छ । प्रहरीले आवस्यक अनुसन्धान भइरहेको जनाएको छ । नुवाकोटको पुर्वी भेगमा रहेको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा विहीवार राती पसल तोडफोड गरी चोरी भएको हो ।


स्थानीय छहरे बजारस्थित ज्ञानबहादुर डंगोलको पसलको झ्यालको ग्रिल फुटाएर चुरोट, नगद तथा जिन्सी सामान चोरी भएको प्रहरीले जनाएको छ । नगद र जिन्सी सामान गरी करिब एकलाख ४० हजार रुपैयाँ बराबरको चोरी भएको छ । बजार क्षेत्रमा पसल तोडफोड गरी चोरी भएपछि स्थानीय व्यवसायीहरूमा चिन्ता बढेको छ ।

बजारको सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको स्थानीयवासी विक्रम आचार्यको भनाई छ । उनका अनुसार चाडपर्वको समयमा चोरीको घटना भएकाले आम सर्वसाधारण सचेत रहनु पर्ने समय आएको छ ।






