बिदुरः नेपाल–चीन सिमावर्ती लेन्देखोला हुदै भोटेकोशी नदीमा मिसिएर रसुवागढी नाका हुदैँ त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले वगाएका नुवाकोटका विभिन्न सरकारी कार्यालयहरुले सेवा सुचारु गरेका छन् । उनीहरुमध्ये कुनैले भाडामा त कुनैले छिमेकी अर्को कार्यालयवाट सेवा प्रदान गरेका हुन् । गत भदौ १० गते विहान १० वजे आएको प्रलयकारी बाढीले नुवाकोटमा महत्वपुर्ण सरकारी कार्यालयहरु सिनित्त पारेको थियो ।


बाढीले बिदुर नगरपालिका १ ढुंगे वजार पूर्ण रुपमा वगरमा परिणत गरिदिएको छ । बाढीले ढुंगेवजारलाई वगरमा परिणत गर्दा उक्त स्थानमा रहेका कृषि विकास वैंकको त्रिशूली शाखा, कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना, वागवानी विकास कार्यालय, बिदुर नपा १ नं. वडा कार्यालय, पुरानो जिल्ला कारागार भवन, पशु सेवा कार्यालय तथा आवासमा क्षति गरेको थियो । यसका साथै बाढीले सिचाई विकास डिभिजन कार्यालय, यान्त्रिक कार्यालयसमेत ध्वस्त पारेको छ ।

अधिकांश कार्यालयले बाढी आएको तीन सातापछि सेवा सन्चालन गरेका छन् । कुनै भाडाको घर तथा कुनै अन्य छिमेकी कार्यालयको शरणमा पुगेका छन् । विनासकारी बाढीले नुवाकोटमा रहेका १४ वटा सरकारी कार्यालय पूर्ण र दुई वटामा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको जनाएको छ । त्रिशूली र देवीघाट जलविद्युत, त्रिशूली थ्रि ए र थ्रि वि जलविद्युत आयोजनासहितका कार्यालय ध्वस्त भएका छन् ।

बाढीले ध्वस्त पारेको कृषि विकास वैंकको त्रिशूली शाखा वट्टारस्थित भाडाको घरमा वसेको छ । अस्थायी रुपमा काम सुचारु गरिएको छ, सेवाको हिसावमा काम सुरु गरिएको शाखा प्रवन्धक उपेन्द्र भट्टको भनाई छ । बिदुर नपा १ को वडा कार्यालय डेढ किलोमिटर माथि विदुरस्थित विदुर नपा २ नं. वडाको कायाृलयवाट काम सुचारु गरेको छ । उक्त वडामा रहेका त्रिशूली र ढुंगे वजार ध्वस्त भएका कारण तथ्याक संकलन, राहत तथा उद्धारमा वडा कार्यालय तल्लीन रहेको वडाध्यक्ष लेनिन रन्जितले वताए ।

डिभिजन सिंचाई कार्यालयले बिदुरस्थित खानेपानी डिभिजन कार्यालयको एउटा कोठावाट सेवा सुचारु गरेको छ । उक्त कार्यालयले कायाृलय सन्चालनका लागि भाडाको घर खोजिरहेको कार्यालय प्रमुख अमृतकुमार दाहालले वताए । कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना छिमेकी पशुसेवा कार्यालयको भवनवाट कामकाज सुचारु गरेका छन् । वागवानी कार्यालय एक किलोमिटर माथि बिदुरमा रहेको आफ्नै क्वार्टरवाट कामकाज सन्चालन गरेको छ ।

यान्त्रिक कार्यालयको भने आफ्नै नयां भवन रहेका कारण सोही भवनलाई सुचारु गरेको छ । सो कार्यालयको मेशिन उपकरण गोदाम भने वगर वनेको छ । जनतालाई जसरी भएपनि सेवा दिनै प¥यो, लामो समय सेवाविहीन वनाउनु भएन–कृषि विकास कार्यालय नुवाकोटका प्रमुख श्रीकृष्ण अधिकारीले वताए । खेतिपातीको मौसम भएकाले कृषिले छिमेकी कार्यालयमा वसेर सेवा प्रदान गरिरहेको उनले वताए ।

जिल्ला विपद वयवस्थापन समिति तथा सरोकारवालाले पहिले क्षतिग्रस्त सडकको मर्मत, पुर्ननिर्माण, पुल वगेका स्थानमा अस्थायी संरचना निर्माण गरेर आवतजावतको नीतिलाई प्राथमिकता दिएको छ । पहिलो चरणको उद्धार तथा राहत कार्यक्रम सकिएको जनाइएको छ ।





