बिदुरः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण नुवाकोटका चार स्थानीय तह प्रभावित भएको छ । बिदुर र बेलकोटगढी नगरपालिका र किस्पाङ, तारकेश्वर गापा प्रभावित भएको छ । भोटेकोसी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते वुधवार आएको प्रलयकारी बाढीले नुवाकोटमा हालसम्म दुईसय दुई वटा शव संकलन गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।


जसमध्ये पहिचान भउका ३७ वटा शव सम्वन्धित परिवारको जिम्मा लगाइएको छ । भोटेकोसी बाढीपछिको नुवाकोटको पछिल्लो अवस्थाको तथ्याङ्क सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढीमा परेर स्वदेशी र विदेशी गरि दुईहजार ६ सय ९५ जना अझै वेपत्ता रहेका छन् । जसमध्ये विदेशी महिला एकसय ५४ जना, विदेशी पुरुष एकसय २० जना तथा वांकी सवै नेपाली रहेका छन् ।

भोटेकोसी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीपछि नुवाकोटमा भएको क्षतिको अवस्था, खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन, सडक, पुल, तुइन, खानेपानीलगायतका पूर्वाधारको पुनःउत्थान तथा पुनर्निर्माणको अवस्था सार्वजनिक भएको छ । आइतवारसम्म विभिन्न स्थानमा कायम गरिएका २२ वटा आश्रित केन्द्रहरुमा सातसय ३९ जना महिलासहित एकहजार ६ सय १३ जना वासोवास गरिरहेका छन् ।





