बिदुरः नुवाकोटको ६ दशक पुरानो त्रिशूली अस्पतालमा सुधारका लागि अन्र्तक्रिया गरिएको छ । अस्पताललाई स्तरोन्नती गराउने बिषयमा सरोकारवालावीच छलफल गरिएको छ । नुवाकोट २ का प्रतिनिधिसभा सदस्य डा. अचुतम लामिछानेले सोमवार त्रिशूली अस्पताल पुगेर स्थलगत अनुगमन गरेका छन् ।


उनले अस्पतालको भौतिक तथा प्राविधिक विषयमासमेत अनुगमन गरेका छन् । अस्पतालको व्यवस्थापन तथा कर्मचारीसँग अस्पतालको दीर्घकालीन विकास र सेवा विस्तारका विषयमा विस्तृत छलफल भएको छ । छलफलमा त्रिशूली अस्पतालको भौतिक पूर्वाधार सुदृढीकरण, आधुनिक सुविधासहितको नयाँ संरचना निर्माण, नर्सिङ कलेज स्थापना, विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार तथा हालको एकसय शय्यालाई चरणबद्ध रूपमा तीनसय शय्याको सुविधासम्पन्न अस्पतालमा स्तरोन्नति गर्ने अवधारणाबारे विशेष रूपमा छलफल भएको थियो ।

सांसद डा. लामिछानेले नुवाकोटसहित रसुवा र धादिङआसपासका नागरिकले त्रिशूली अस्पतालमा गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ आवश्यक समन्वय, पहल र सहयोगलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् । डा. लामिछानेको टोलीलाई अस्पतालका निमित्त प्रमुख डा. राजेन्द्र लामालगायतले विभिन्न इकाई तथा स्वास्थ्य उपकरणको वर्तमान अवस्थाका समवन्धमा जानकारी गराएका थिए ।

सांसद डा. लामिछानेलगायतले त्रिशूली अस्पतालको समग्र रूपमा स्थलगत अवलोकन गदैृ अस्पतालको भौतिक तथा प्राविधिक विकास र समृद्धिको लागि पहल कदमी गर्ने प्रतिबद्धता जनाएका छन् । त्रिशूली अस्पतालमा आकस्मिक र वहिरंग गरि दैनिक पांचसय जना विरामीहरु उपचारका लागि जाने गरेका छन् ।




















