बिदुरः नुवाकोटको तारकेश्वर गाउंपालिकाले गत वर्षको एसइईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई गापा अध्यक्ष प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । उत्कृष्ट जिपिए ल्याउने तीन विद्यार्थीलाई जनही नगदसहित सम्मानित गरिएको हो । गापा कार्यालय दाङसिङमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको हो ।


तीन जना विद्यार्थीहरुलाई नगद ५० हजार रुपैया सहित गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले घोषणा अनुरूप तारकेश्वर गापाका स्थायीबासि मध्यबाट एसइई परीक्षामा ४ जिपिए ल्याउने तीनजना छात्रछात्रालाई समेवार नगदसहित ’गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरेका हुन् । ’शिक्षक, विद्यार्थी र विद्यालय सम्मान तथा वार्षिक शैक्षिक क्यालेण्डर विमोचन गरिएको हो ।

कार्यक्रम’मा तारकेश्वर गाउँपालिकाको स्थायी बासिन्दा भई गाउँपालिका बाहिरका स्कुलमा अध्ययन गरेका र ४ जिपिए ल्याउन सफल भएका प्राजन प्रधान, सम्पदा श्रेष्ठ र दिलासा पौडेललाई अध्यक्ष अधिकारी, उपाध्यक्ष हरिप्रसाद रिमाल, प्रमुख प्रशासकिय अधिकृत सिर्जना अर्याललगायतले सम्मान गर्दै उक्त प्रोत्साहन पुरस्कार हस्तान्तरण गरेका हुन् । गत वर्षको एसइई परीक्षामा गाउँपालिकाभित्रका विद्यालयहरूमध्येबाट उत्कृष्ट नतिजा ल्याउने श्रीकृष्ण माविकी छात्रा सुनीता रोक्का र सोही विद्यालयका छात्र पवन ढकाललाई जनही आठ हजार रुपैया नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ । उत्कृष्ट नतिजा हासिल गरेको शङ्खादेवी माविलाई नगद २५ हजार रुपैयासहित प्रशंसापत्र र दोसल्लाले सम्मान गरिएको छ ।

यस्तै, आफूले पढाएको विषयमा औसतमा उत्कृष्ट जिपिए ल्याउने शिक्षकहरू शङ्खादेवी माविका नेपाली शिक्षक रामकुमार अधिकारी, अङ्ग्रेजी शिक्षक राजकुमार घिमिरे, गणित शिक्षक विष्णुमणि घिमिरे, सामाजिक शिक्षक दामोदर कुइँकेल र अर्थशास्त्र शिक्षक राजु बस्नेत, पिमलटार माविका विज्ञान शिक्षक निरज श्रेष्ठ, पिपलडाँडा माविका कार्यालय सञ्चालन तथा लेखा विषय शिक्षक विश्वराज घिमिरे र कृष्ण माविका अतिरिक्त गणित शिक्षक जनकमान प्रधानलाई नगद ४ हजार, सम्मानपत्र र दोसल्लाले सम्मानित गरे । यसका साथै आधारभूत तह (कक्षा ८) को परीक्षामा उत्कृष्ट नतिजा ल्याएकी श्रीकृष्ण माविकी छात्रा अनिषा श्रेष्ठ र चण्डी माविका छात्र राहुल विकलाई जनही नगद आठ हजार, सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको छ ।

उत्कृष्ट नतिजा ल्याउने विद्यालय श्रीकृष्ण माविलाई नगद २० हजार, प्रशंसापत्र र दोसल्लाले सम्मान गरिएको छ । सोही अवसरमा गाउँपालिकाको वार्षिक शैक्षिक क्यालेन्डरको विमोचन गर्दै अधिकारीले क्यालेन्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र शैक्षिक उन्नति र नतिजाको सुधारमा दत्तचित्त भएर लागिपर्न सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई निर्देशन दिए । उनले दुई साताअघि दिएको सात बुँदे निर्देशनलाई पूर्णरूपमा पालना गर्दै आगामी वर्षको नतिजालाई उत्कृष्ट बनाउने संकल्पका साथ काम गर्नुपर्नेमा विशेष जोड दिए ।

यसैवीच, नुवाकोटको विदुर नगरपालिकाले संस्थागत विद्यालयहरूलाई तोकिएको शुल्कभन्दा बढी रकम नलिन निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा शाखाले सार्वजनिक पत्रमार्फत चालु शैक्षिक सत्र २०८३ मा केही संस्थागत विद्यालयहरूले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको गुनासो प्राप्त भएको जनाएको छ । बिदुर नगरपालिकाले यसअघि नै मासिक तथा वार्षिक शुल्क निर्धारण गरी सोही अनुसार कार्यान्वयन गर्न परिपत्र गरिसकेको भए पनि केही विद्यालयले अतिरिक्त शुल्क उठाएको जानकारी आएपछि ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा शाखाका अनुसार नगरपालिकाले तोकेको सीमा र दायराभन्दा बढी शुल्क असुल नगर्न तथा नगरपालिकाको निर्देशन पालना गर्न विद्यालयहरूलाई अनुरोध गरिएको छ । निर्देशित व्यवस्था उल्लंघन गरे प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।

























