बिदुरः सामुदायिक विद्यालयको आकर्षण वढाउने र शिक्षाको गुणस्तरियताको प्रभावकारिताका लागि नुवाकोटको तारकेश्वर गाउँपालिकाले ’गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ दिने भएको छ । सो गापामा रहेका सामुदायिक विद्यालयहरुबाट ४ जिपिए ल्याउने विद्यार्थीले एक लाख रुपैया पुरस्कार पाउने भएका छन् । तारकेश्वर गापाले यसै वर्षदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको प्रोत्साहनका लागि ’गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने घोषण गरेको हो ।

जसअन्तर्गत, गापाभित्रका सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई एकलाख र तारकेश्वर गापाको स्थायी बासिन्दा भई गापा बाहिरका सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार रुपैया नगद राशिको पुरस्कार प्रदान गरिँने तारकेशवर गापा अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिए । उनले यो पुरस्कार यसै वर्षदेखि हरेक वर्ष प्रदान गर्ने व्यवस्था मिलाउन शिक्षा शाखालाई निर्देशन दिएका छन् ।

केही दिनअघि मात्रै अध्यक्ष अधिकारीको प्रस्तावमा गाउँ कार्यपालिकाले गाउँपालिका र सबै वडाका जनप्रतिनिधिका साथै गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, गाउँपालिकाभित्रका सबै विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीले अनिवार्य रूपमा आफ्ना सन्तति सामुदायिक विद्यालयमा पढाउनुपर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वढाउने योजनामा निरन्तर काम गरिरहेको तारकेश्वर गापाको सो निर्णय सोही अभियान अन्तर्गतको एक विशेष कदम रहेको बताउँदै अध्यक्ष अधिकारीले वताए । उनले उक्त निर्णयको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका लागि सम्बन्धित शाखालाई आवस्यक निर्देशनसमेत दिएका छन् ।





