बिदुरः खेल पर्यटनको उद्धेश्यसहित नुवाकोटको दुप्चेश्वरमा भलिवल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा घरेलु टिम दुप्चेश्वर विजयी भएको छ । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा यहि वैशाख ५ गतेसम्म संचालन हुने सातौं दुप्चेश्वर कप राष्ट्रब्यापी अन्तर स्थानीय तहस्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम दुप्चेश्वर गापाले पाहुना टिम मेलुङ गापा दोलखालाई २–१ को सेटमा पराजित गरेको छ ।


नुवाकोटको उत्तरपुुर्वी भेगमा रहेको दुप्चेश्वरमा वुधवार सातौँ ‘दुप्चेश्वर कप’ खुल्ला पुरुष भलिबल प्रतियोगिताकाृ जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले प्रतियागिताको उद्घाटन गरेका हुन् । उनले दुप्चेश्वरमा सन्चालित यस प्रतियोगिताले धार्मिकसंगै खेल पर्यटन प्रवद्र्धन हुने वताए । उनले खेल जीवनवाटै मानिसहरुमा सकारात्मक परिवर्तन हुनेसमेत वताए ।

प्रतियोगितामा राष्ट्रिय खेलाडिहरुको सहभागिता रहेको आयोजक दुप्चेश्वर गापाले जनाएको छ । प्रसिद्ध दुप्चेश्वर धामको प्रवद्र्धन तथा खेलाडिहरुको उत्थानका लागि सातौँ संस्करणको ‘दुप्चेश्वर कप’ राष्ट्रिव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता सन्चालन गरिएको दुप्चेश्वर गापाले जनाएको छ । उक्त प्रतियोगिता उद्घाटन कार्यक्रममा गापा अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, अन्य गापाका अध्यक्ष तथा उपाध्यक्ष तथा अन्य जनप्रतिनिधि तथा खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

यस प्रतियोगिताले खेलकुदमार्फत खेल पर्यटनका साथै सामाजिक सद्भाव, धार्मिक तथा सामाजिक सहिष्णुता र युवामा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता सन्चालन गरिएको हो । प्रतियोगितामा प्रथम हुने भलिवल टोलीले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने भलिवल टोलीले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ, तृतीय हुने भलिवल टोलीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र सान्त्वना स्थान हुने भलिवल टोलीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक दुप्चेश्वर गापाले जनाएको छ ।

साथै सर्वोत्कृष्ट खेलाडीलाई ११ हजार एकसय ११, बेस्ट स्पाइकर, वेष्ट सेटर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट कोचलाईसमेत समान ५ हजार पांचसय ५५ रुपैया पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता दुप्चेश्वर–६ स्थित दुप्चेश्वर धाम परिसरमा सुरु भएको हो । प्रतियोगितामा सहभागी प्रत्येक टोलीमा व्यवस्थापक/कोचसहित न्यूनतम १२ जना खेलाडी अनिवार्य गरिएको छ ।














