बिदुरः खेल पर्यटनको लक्ष्यसहित नुवाकोटको दुप्चेश्वरमा सन्चालित राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महिला तथा पुरुष रेस्लरका छुट्टाछुट्टै खेल सम्पन्न गरिएको छ । नयाँ वर्ष २०८३ को अवसरमा बैशाख १ गते मंगलवार नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिर परिसरमा राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको नेपाल रिङ रेस्लिङ संघ नुवाकोटले जनाएको छ । १२ जना रेस्लरहरुले विभिन्न विद्यामा प्रतिस्पर्धा गरेका थिए ।


धार्मिक खेल सहितको पर्यटन प्रवद्र्धन तथा मोफसलमा रिङ रेस्लिङको विस्तार गर्ने उद्देश्यसहित ‘न्यु एयर व्लाष्ट’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा हेभीवेट (पुरुष) विद्यामा शाइन विजेता भएका छन् । शाइनले डेभिडलाई पराजित गर्दै गोल्डेन बेल्टसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । महिला च्याम्पियनसिप विद्यामा आकृति विजयी भइन् ।

उनले तनुलाई पराजित गर्दै बेल्टसहित ५० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगितामा पुरुष ट्यागटिम हार्डकोर विद्यामा किङग रोवेर्ट र उर्गेन विजेता भए ।
उनीहरुले चट्टान र ठागुलाई पराजित गर्दै मेडलसहित ६० हजार रुपैयाँ पुरस्कर पाए । प्रतियोगितामा ट्रिपल थ्रेट विद्यामा एक्स हिरोले सुजल र सिजे वोल्र्डलाई पराजित गर्दै मेडलसहित २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

सन्जय महर्जनले रेफ्रि गरेको सो प्रतियोगितामा नुवाकोटे टाइगर, साइन, डेविट, चट्टान, किङ रोवर्ट, उर्गेन, ठागु, तनु, आकृति, सुजल, एक्स हिरो, सिजेवल्डलगायत १२ जना चर्चित रेस्लरहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको सबैभन्दा प्रतिक्षित हेभीवेट प्रतिस्पर्धामा प्रदीप पाण्डे (साइन)ले दमदार प्रदर्शन गर्दै डेभिडलाई पराजित गरी उपाधि जिते ।

प्रतियोगिताका विजेताहरुलाई दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले पुरस्कृत गरे । उनले राष्ट्रिय प्रतियोगिताको आयोजनाले दुप्चेश्वरमा खेल पर्यटनसमेत जोडिएको वताए । खेल क्षेत्रवाटै मानिसको सामाजिक विकास हुनेसमेत उनले वताए । कार्यक्रममा दुप्चेश्वर गापाकी उपाध्यक्ष माकुरी तामाङ, वडाध्यक्षहरु, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरू स्मृति गौतम र मदन थापालगायतले सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । संघले यसअघि पनि विभिन्न स्थानमा यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको थियो । गत २०७८ साल वैशाख १ गते शिवपुरी गाउँपालिकाको सूर्यचौर र २०७९ साल वैशाख १ गते दुप्चेश्वर मन्दिर परिसर र २०७९ साल असोज १५ गते कालिका मावि गुर्जेमा ‘वडादशैं महाभिडन्त’ सम्पन्न गरिसकेको छ ।

आयोजकका अनुसार यस पटकको प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नुका साथै नुवाकोटमा धार्मिक तथा खेल पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको जनाइएको छ । यस प्रतियोगितामार्फत दुप्चेश्वर धार्मिक स्थलको प्रचारप्रसार, स्थानीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथ रिङ रेस्लिङ खेललाई काठमाडौं बाहिर पनि चिनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । यस प्रतियोगिताले एकैस्थानमा खेल, संगीत र उत्सवको समिश्रण प्रस्तुत गरेको थियो ।

रेस्लिङ प्रतियोगितामा नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलवार दिनैभर नुवाकोटको दुप्चेश्वर धाम परिसर गुन्जायमान थियो । प्रसिद्ध धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित सोे स्थान खेलकुद, संगीत र मनोरञ्जनको रंगशाला नै बन्यो, र रिङ रेस्लिङको रोमाञ्चक भिडन्तले सयौं दर्शकलाई मनोरन्जनसमेत दिएको नुवाकोट रेस्लिङ संघका अध्यक्ष प्रल्हाद थापाको भनाई छ । नेपाल रिङ रेस्लिङ संघ नुवाकोटद्वारा आयोजित ‘न्यू इयर ब्लास्ट’ प्रतियोगिताले स्थानीय खेल संस्कृतिमा नयाँ ऊर्जा थपेको दर्शकहरुको भनाई छ ।

सबैभन्दा बढी प्रतिक्षित हेभीवेट प्रतिस्पर्धामा प्रदीप पाण्डे उर्फ साइनले आफ्नो दबदबा कायम राख्दै डेभिडलाई पराजित गरेका हुन् । शक्तिशाली खेल नियम र आत्मविश्वासपूर्ण प्रस्तुतीले उनले दर्शकबाट सबैभन्दा बढी वाहवाही बटुले । महिलातर्फ आकृतिले तनुलाई हराउँदै च्याम्पियन बनिन्, जसले नेपाली महिला रेस्लिङमा बढ्दो सहभागिता र सम्भावनाको उजागर गरेको छ ।

आयोजकका अनुसार यस प्रकारका प्रतियोगिताले खेलाडीलाई प्लेटफर्म दिने मात्र नभई नुवाकोटको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास लिइएको छ । धार्मिक स्थलसँगै साहसिक खेलको आकर्षण जोडिँदा आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यको सम्भावना देखिएको स्थानीयवासीको भनाई छ ।














