बिदुरः प्रयोगात्मक शिक्षण विद्यिका सम्वन्धमा नुवाकोटको म्यागङ गाउँपालिकामा शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी कार्यक्रम सन्चालन गरिएको छ । शैक्षिक क्रियाकलाप र नमूना अभ्यासका लागि कस्टमाइज्ड तालिम प्रदान गरिएको हो । म्यागङ गापा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा रुमटुरिड र रुडेक नेपालको समन्वय तथा सहकार्यमा ५ दिने कार्यक्रम प्रदान गरिएको हो ।


सहभागी शिक्षकहरुलाई तालिम अबधिभर कक्षाकोठामा आधारति भएर गर्ने क्रियाकलाप र नमूना अध्यासबाट सिप प्रदान गरिएको थियो । नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७६ सालदेखि लागू गरेको एकीकृत पाठ्यक्रम (कक्षा १–३) लाई शिक्षकले प्रयोग गर्ने विद्यि, बालबालिकाहरुलाई शिक्षण सिकाइ गर्ने तरिका, एकीकृत पाठ्यक्रमको उद्देश्य, एकीकृत पाठ्क्रमले निर्धारण गरेका विषयगत तथा तहगत सिकाइ क्षमताहरु, ति क्षमता हासिल गराउन गरिने कार्य, एकीकृत पाठ्क्रमले मूल्याङ्कन प्रक्रियालाई गर्ने व्यवस्थापनका सम्वन्धमा जानकारी गराइएको थियो ।

कार्यक्रममा पाठ्यक्रम, कार्यपुस्तिका र शिक्षक निर्देशिका वीचको सम्बन्धको अवस्था, ति स्रोतको प्रयोग गर्ने तरिका, शिक्षण रणनीति, शिक्षणका तत्वहरु, शिक्षणका विधिहरुको पहिचान, त्यसको प्रयोग गर्ने तरिका, बहुविषयक र अन्तरविषयक पाठ्यक्रमलाई बालमैत्री रुपमा प्रयोग गर्न सकिने विद्यिलगायतका विविध पक्षमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा शिक्षकहरुमा सहजीकरण गराइएको हो । एकीकृत पाठ्यक्रम (कक्षा १–३) सम्बन्धित शिक्षकहरुको लागि आयोजित कस्टमाइज्ड तालिमका प्रशिक्षणका सम्पूर्ण सेसन र क्रियाकलाप सम्पन्न भएसँगै पूर्ववर्ती कार्यतालिका बमोजिम कस्तमाइज्ड तालिम समापन गरिएको थियो ।

उक्त कस्टमाइज्ड तालिमको समापन गर्दै म्यागङ गापाका अध्यक्ष आशाबहादुर तामाङले अवको शिक्षा समय सुहाउंदो हुनुपर्ने वताए । उनले समाज रुपान्तरणको प्रमुख आधार शिक्षा हो भन्ने चरितार्थ गर्दै विगतदेखि नै म्यागङ गापामा हरेक आर्थिक वर्षमा शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन गरिएको, पहिले भन्दा अहिले म्यागङ गापाको शिक्षामा सुधार हुँदै गएको बताए ।

उनले म्यागङको शिक्षा क्षेत्रको विकास र परिवर्तनमा गापा सधैँ लागी पर्ने र सबैलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा म्यागङ गापाका प्रमुख प्रशासकीय अधिकृत दयाराम पौड्याल, शिक्षा प्रमुख देवकी सिम्खडालगायतले तालिमको महत्व, उद्देश्यसहित यसलाई प्रभावकारी रुपामा कक्षाकोठामा पु¥याउन शिक्षकहरुलाई अनुरोध गरे ।

सहभागीहरुलाई रुमटुरिडका प्रशिक्षक कृष्णप्रसाद खतिवडा, रुडेक नेपालका व्यवस्थापक सन्तोष खनाल, फुलमाया तामाङलगायतले सहजीकरण गरेका थिए ।प्रशिक्षार्थीको तर्फबाट शिक्षक विष्णु भुजेल र सविता खड्काले सिकेको विषयलाई कक्षाकोठा र विद्यार्थीमाझ सदुपयोग गर्ने वताए । तालिमको समापन सत्रमा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र प्रशिक्षकहरुलाई प्रशंसा पत्रको साथमा डायरी प्रदान गरिएको छ ।











