बिदुरः नुवाकोटको तारकेश्वर गाउंपालिकाले आइतवार विद्यालय वन्द नगर्ने भएको छ । शैक्षिक संस्थाहरूका लागि तारकेश्वर गाउँपालिकाले शनिवार चार वुंदे निर्देशन दिदै आइतवार विद्यालय पुर्ववत सन्चालन हुने जनाएको छ । तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले चार बुँदे निर्देशन दिदै आइतबार विद्यालय बन्द नहुने जानकारी गराएका हुन् ।


उनले २०८३ सालको नयाँ शैक्षिक सत्रको वार्षिक शैक्षिक कार्यक्रमसहितको शैक्षिक क्यालेण्डर तयार भइसकेको अवस्थामा विद्यालय आइतबार वन्द नगरिने जनाएको छ । संघीय सरकारबाट सातामा दुई दिन बिदा दिने र वैशाख २१ गतेपछि मात्रै कक्षा सञ्चालन गर्ने नीति अख्तियार भएको सन्दर्भमा तारकेश्वर गापा अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलले गाउँपालिका भित्रका शैक्षिक संस्थाहरूका लागि चार वटा बुँदाहरूमा निर्देशन दिएका छन् । उनले पूर्वनिर्धारित तालिका अनुसार आगामी वैशाख २ गतेदेखि भर्ना कार्यक्रम सञ्चालन हुनुपर्नेमा संघीय सरकारको नीति अनुरुप वैशाख १५ गतेपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन हुने भएकाले तय भइसकेको वार्षिक शैक्षिक क्यालेण्डर प्रभावित हुने वताए ।

अध्यक्ष अधिकारीले वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन हुँदै आएको बुक फ्री डे मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन गर्ने वताए । सोही अवधिका बीचमा नयाँ शैक्षिक सत्रका लागि कार्ययोजना निर्माण गर्ने र प्रभावकारी शिक्षण क्रियाकलापका लागि शिक्षकहरू बीच सामूहिक छलफल र शैक्षणिक सीपको आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गर्ने, आगामी. वैशाख १५ गतेदेखि २१ गतेसम्म भर्ना कार्यक्रम र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्देशनमा उल्लेख छ ।

अध्यक्ष अधिकारीले अहिलेकै अवस्थामा सातामा दुई दिन शिक्षण संस्था बन्द गर्दा विद्यार्थीहरूको पठनपाठनका लागि आवश्यक समय अपुग हुने देखिएकाले र संघीय सरकारको सातामा दुई दिन बिदा दिने निर्णयका पछाडि इन्धनको बचत पहिलो उद्देश्यका रुपमा देखिएको र गाउँपालिकाभित्र शिक्षण संस्था सञ्चालन हुँदा इन्धनको खपतमा थपिने भार नगन्य रहने भएकाले संघीय सरकारबाट नयाँ शैक्षिक कार्ययोजनासहित विस्तृत योजना आएको खण्डमा सोही अनुसार गर्ने उल्लेछ छ । साथै यही अवस्थामा भने नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न ढिला भएको १५ दिन र त्यसमाथि सातामा दुई दिन विद्यालय बन्द गर्दा विद्यार्थीहरूको शैक्षिक सिकाइ उपलब्धिमा गम्भीर क्षति पुग्ने देखिएकाले विद्यार्थीहरूको भविष्यप्रति जिम्मेवार हुँदै साताको एक दिन शनिबार मात्रै विद्यालय बन्द गर्ने ।

आइतबार भने विगतमा झैँ विद्यालय सञ्चालन गर्ने तारकेश्वर गापा अध्यक्ष अधिकारीले दिएको निर्देशनमा उल्लेख छ । विद्यालयहरू बाहेक गापाभित्रका अन्य कार्यालयहरूको हकमा भने संघीय सरकारको नीति अनुरुप नै सातामा दुई दिन कार्यालय बन्द रहने र अन्य दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने अध्यक्ष अधिकारीले बताएका छन् । अध्यक्ष अधिकारीले यो निर्देशन पूर्णतः कार्यान्वयन गर्न, गराउन गाउँपालिका शिक्षा शाखा र गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिएका छन् । उनले उक्त निर्देशन अनुसार भए नभएको एकिन गर्न नियमित रूपमा विद्यालयहरूको अनुगमन गर्न गाउँ प्रहरीलाई निर्देशनसमेत दिएका छन् ।
स्वास्थ्य सेवा पनि सन्चालन हुनेः
तारकेश्वर गापाले स्वास्थ्य नै धन हो भन्ने मुल नारासहित आइतवार आफ्नो गापा मातहतका सम्पुर्ण स्वास्थ्य सेवा सन्चालन हुने जनाएको छ । मानवीय स्वास्थ्य सुरक्षाका दृष्टिले महत्वपुर्ण रहेको स्वास्थय सेवा सम्पुर्ण गाउंवासीको अधिकार भएको जनाउंदै गापा अध्यक्ष शिव अधिकारी अविरलले आइतवार गापा मातहतका सम्पुर्ण स्वास्थ्य सेवा सन्चालन हुने वताएका छन् ।
उनले तारकेश्वर गापा मातहतका सबै स्वास्थ्य सेवा केन्द्रको सेवा सुचारु गर्न स्वास्थ्य शाखा प्रमुखसहित सबै स्वास्थ्यकर्मी कर्मचारीहरूलाई अध्यक्ष शिव अधिकारी अविरलले निर्देशन दिएका छन् । स्वास्थ्य नै धन हो हामी सबैले बुझौं भन्ने मुल मर्मलाई आत्मसात गदैृ जनताको हितमा उक्त निर्देशन दिइएको उनले वताएका छन् ।





