बिदुरः सुख्खायामसंगै बनडढेलोको जोखिम वढेका कारण त्यसको नियन्त्रणका लागि नुवाकोटमा सचेतना गरिएको छ । जंगलमै पुगेर बनडढेलो नियन्त्रण प्रयोगात्मक अभ्यास गरिएको हो । आगजनी तथा बनडढेलो नियन्त्रणको सचेतनाका लागि वन क्षेत्रमा गएर उक्त अभ्यास गरिएको हो ।


बनडढेलो नियन्त्रण तथा व्यवस्थापन अभ्यास कार्यक्रम्अन्तर्गत बिदुर नपा २ स्थित जंगलमा बनडढेलो नियन्त्रण सम्बन्धि कृत्रिम घटना अभ्यास सम्पन्न भएको हो ।वनडढेलो नियन्त्रण सचेतनाका लागि डिभिजन वन कार्यालय नुवाकोटले स्थानीय पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित जंगलमा उक्त बनडढेलो कृत्रिम घटना अभ्यास गरिएको डिभिजन वन प्रमुख प्रदीपनाथ शर्माले वताए । “हरियो वन, सुरक्षित जीवन” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा सर्वसाधारण, सामुदायिक वन अभियन्ता, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख विपिन रेग्मी, सेनाको शेर गणका गणपति आविस्कार ढुङ्गाना, सशस्त्र प्रहरी बल १९ नं गुल्म प्रमुख गंगा केसी, त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामा, रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठलगायतले बनडढेलो र आगजनी नियन्त्रणका लागि यस प्रकारको कृत्रिम घटना अभ्यासले सचेतना प्रदान गरेको वताए । साथै घटना अभ्यासमा विभिन्न सरोकारवाला निकाय, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता तथा दमकल टोलीको सहभागिता रहेको थियो ।

अग्निनियन्त्रक सामग्रीहरु, दमकल, एम्बुलेन्स, कार्वन वललगायतको प्रयोग गरि आगो निभाउने उपकरण, सुरक्षा सामग्री, संचार प्रणालीलगायतको उचित तरिकाले प्रयोग गने कार्यकोे विकास गर्नु, जोखिम न्यूनीकरण र तयारी, सम्भावित डढेलोको असर कम गर्न पूर्वतयारीका सम्वन्धमा व्यवहारिक अनुभव दिलाउनुलगायत कार्यक्रमको उद्धेश्य रहेको वन अधिकृत कमल घिमिरेको भनाई छ । यसका साथै उक्त अभ्यासवाट उद्धार र सुरक्षित स्थानान्तरणहरुको कार्यसहित स्थानीय बासिन्दा वा वन क्षेत्रका मानिसहरूलाई सुरक्षित रूपमा राख्ने अभ्यास गर्नु, अभ्यासका क्रममा देखिएका कमजोरीहरू पत्ता लगाएर भविष्यमा सुधार गर्ने योजना बनाउनु र जनचेतना अभिवृद्धि वन डढेलोको जोखिम, रोकथाम र नियन्त्रणबारे सरोकारवालाहरू तथा समुदायलाई सचेत गराउनु महत्वपुर्ण उद्देश्य रहेको अर्का बन अधिकृत शालिग्राम भट्टराइले वताए ।

यसैवीच, वन सचेतनाका लागि नुवाकोटको माझिटारमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । डिभिजन वन कार्यालय नुवाकोटको आयोजनामा भएको उक्त वक्तृत्वकला प्रतियोगितामा च्वाडि पव्लिक माविकी रञ्जिता मानन्धर प्रथम भइन् । चन्द्रज्योति माविका पर्बत पाण्डे द्वितिय र च्वाडि माविकै सरस्वती राई तृतीय भएका छन् । गुडविल एकेडेमीका अमनिका अधिकारी सान्त्वना भइन् ।

बिजेताहरूलाई डिभिजन बन कार्यलयका प्रमुख प्रदीपनाथ शर्मा र विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने नगदसहित स्टेशनरी सामग्रीहरु प्रदान गरेका हुन् । प्लाष्टिकजन्य बस्तुको प्रयोग हटाऔः वातावरण जोगाऔ भन्ने शिर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा विदुर ५ वडा कार्यालय र लामिबगैचा सामाजिक युवा क्लवले सहकार्य गरेको थियो ।








































