बिदुरः सामुदायिक विकासका लागि नुवाकोटको तारकेश्वरमा एकैपटक दुई वटा कार्यालय उद्घाटन गरिएको छ । आमा समूहहरुलाई आर्थिक सहयोगसमेत प्रदान गरिएको छ । तारकेश्वर गाउंपालिका ४ स्थित बुधसिंङमा एकैपटक दुई कार्यालय उद्घाटन गरिएको हो ।


स्थानीय सातवटा आमा समूहलाई शसक्तिकरणका लागि कुल ४ लाख ५० हजार रुपैया सहयोग प्रदान गरिएको हो । तारकेश्वर गापाले सामुदायिक विकास तथा महिला सशक्तिकरणका लागि उक्त सहयोग प्रदान गरेको हो । गापा अध्यक्ष शिव अधिकारी अविरलले बुधसिंङमा स्थापना गरिएको पशु सेवा उपशाखा र सामुदायिक सीप सिकाई केन्द्रको एकैपटक उद्घाटन गरे ।

पशुहरूमा लाग्ने विभिन्न रोगहरूको परीक्षण, उपचार र परामर्श पशुसेवा उपशाखाबाट निःशुल्क रुपमा उपलब्ध हुने भएकाले किसानहरुलाई लाभ लिन उनले अनुरोध गरे । नवस्थापित सिप सिकाई केन्द्रबाट सिलाई बुनाई, ब्युटिसियन, म्युजिक, हस्तकलाका विभिन्न सामग्रीहरूको निर्माणलगायतको सीपहरू सिकाइनुका साथै यसका लागि सीप अनुसारका विभिन्न सामग्रीहरू निर्माणका लागि आवश्यक पर्ने व्युटिसियन, हस्तकला, म्युजिकका सामग्री, सिलाई मेशिनहरूसमेत निःशुल्क रुपमा उपलब्ध गराइएको अध्यक्ष अधिकारीले वताए ।

महिला सशक्तिकरणका लागि आवज अध्यक्ष अधिकारीले स्थानीयवासीको स्वावलम्बन र जीविकोपार्जनका लागि सीप सिकाइका कार्यक्रमहरूलाई प्राथमिकताका साथ गापाले सञ्चालन गर्दै आएको वताए । अध्यक्ष अधिकारीले बुधसिंङका सातवटा आमा समूहलाई महिला सशक्तिकरण, महिला स्वावलम्बन र महिला जिविकोपार्जन अभियान अन्तर्गत दुई नयाँ समूहलाई प्रति समूह एकलाख र ५ पुराना समूहहरूलाई प्रति समूह ५० हजार रुपैयाका दरले कुल चारलाख ५० हजार रुपैया सहयोग हस्तान्तरण गरे ।

यसअघि, तारकेश्वर ४ नेवारपानीमा महिला स्वावलम्वन, महिला सशक्तिकरण, महिला जिविकोपार्जन कार्यक्रमका लागि चार वटा आमा समूहहरुलाई सांढे दुई लाख रुपैया हस्तान्तरण गरिसकिएको अध्यक्ष अधिकारीले वताए । तारकेश्वर गापाको ६ वटै वडामा ९९ वटा आमा समूह, महिला समूह, एकल महिला समूह, किशोरी समूहमार्फत सामुदायिक जागरण अभियान सन्चालन भइरहेको वताए ।

उनले आफु अध्यक्षमा निर्वाचित हुनु भन्दा पहिले देखिनै सामाजिक संस्थामार्फत विभिन्न समूहहरूमार्फत महिला सशक्तिकरणको अभियान सञ्चालन गर्दै आएको र निरन्तरतास्वरुप पालिकावाट पनि थप विशेष सहयोग गरिएको वताए । उक्त कार्यक्रममा सर्वसाधारण गाउंवासी, विभिन्न आमा समूहका सदस्यहरू र सरोकारवालाको सहभागिता रहेको थियो ।





