बिदुरः गाउंवासीको सुविधाका लागि नुवाकोटको काल्चेमा स्वास्थ्य चौकी भबन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवन तादी गाउंपालिकालाई हस्तान्तरण गरिएको छ ।


तादी गाउपालिकाको दुर्गम स्थानको रुपमा रहेको तादी गापां १ काल्चेमा भुकम्प प्रतिरोधी चार कोठे पक्कि आधुनिक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको हो । उक्त भवनको कार्यक्रमकावीच उद्घाटनसहित हस्तान्तरण गरिएको छ ।

नवनिर्मित स्वास्थ्यचौकी भबनको वागमति प्रदेश सभा सदस्य तथा पुर्व कृषि राज्यमन्त्रि राधिका तामाङले उट्घाटन गरिन् । उनले नवनिर्मित स्वास्थ्यचौकी भबनवाट गाउंका विरामीहरुले स्वास्थय सेवा पाउने र यसको भरपुर सदुपयोग गर्न आग्रह गरिन् ।

उनले स्वास्थ्य सेवा मानवको प्रमुख अधिकार भएको कारण यसवाट विरामीहरुलाई सफल उपचार सेवा दिन कर्मचारीहरुलाई आग्रह गरिन् । कार्यक्रममा तादी गापाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठले उपचारका लागि सदरमुकाम र राजधानीसम्म धाउनु पर्ने वाध्यताको अन्त्य भएको जनाउंदै स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी रुपमा सेवा प्रदान गर्न निर्देशन दिइन् ।

कार्यक्रममा तादी गापाका पुर्व अध्यक्ष तथा कांग्रेस तादीका सभापति नारायणप्रसाद पाण्डेले सद्भाव, सहयोग र मानवीय सेवाको लागि सहयोगी संस्थाप्रति आभार व्यक्त गरे । उनले समर्पण र मानवताको भावनाले गाउँका विजरामीहरु निकै खुसी भएको वताए ।

भवन उद्घाटनसंगै तादी गापालाई भवन निर्माणमा सहयोगी संस्था नेपाल ग्रिनतारा फाउन्डेसनका संस्थापक अध्यक्ष टासितेन्जिङ शेर्पा र अध्यक्ष वन्दीनिमा शेर्पालागायतले हस्तान्तरण गरे । सो भवन कुल ७५ लाख रुपैयाको लागतमा निर्माण भएको जनाइएको छ ।

तादी गापा र नेपाल ग्रिनतारा फाउन्डेसनको सहकार्यमा स्वास्थ्य इकाई भवन उद्घाटनसहित हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सदस्य किरण रिजाल, सोही पार्टीका प्रदेश सदस्य तथा तादी गापा कमिटि अध्यक्ष रोशन श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्य, गाउँसभाका सदस्यहरूको सहभागिता रहेको थियो ।

सहभागीहरुले नवनिर्मित स्वास्थ्य इकाई भवनलाई दीर्घकालीन रूपमा संरक्षण र प्रभावकारी रूपमा सञ्चालनमा जोड दिएका छन् । सहभागीहरुले सोे भवनवाट ग्रामीण जनताको स्वास्थ्य, विश्वास र सहकार्यको निरन्तरताको मागसमेत गरेका छन् ।








