बिदुरः चाडपर्वसंगै नुवाकोटको तारकेश्वर गाउंपालिकामा रहेको विभिन्न पसलहरु अनुगमन गरिएको छ । आमसर्वसाधारणको भडि लाग्ने पसलहरुमा एकैदिन छड्के रुपमा अनुगमन गरिएको हो ।


तारकेश्वर गापा १ मा रहेका विभिन्न स्थानका १६ वटा पसलहरुको छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा विभिन्न १२ प्रकारका म्याद गुज्रेका अखाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरिएको हो । आम सर्वसाधारण उपभोक्ताको गुनासो आएपछि तारकेश्वर गापाले सम्वन्धित कर्मचारीसहित गाउँ प्रहरीको सहितटोलीले जन्तरे, लर्केप, फलाटे, दाङसिङलगायतका स्थानमा रहेको १६ वटा विभिन्न पसलहरूको छड्के अनुगमन गरी ३५ हजार रुपैया वरावरको म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका अखाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरेको गापा अध्यक्ष शिव अधिकारी अविरलको भनाई छ ।

अनुगमन गरिएकाहरुमा १२ वटा खाद्यान्न तथा किराना पसल, तीन वटा होटेल र एउटा सवै सामग्री राखिएको पसल अनुगमन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रमा विस्कुट, चाउचाउ, कुरमुरे, चियापत्ति, पिठो, विभिनन पेय पदार्थहरु म्याद गुज्रिनुका साथै कुहिएकोसमेत पाइएपछि जफत गरि नष्ट गरिएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षाकोे अधिकारलाई ख्याल गरि म्या गुज्रिएका अखाद्य पदार्थको बिक्री वितरण नगर्न अध्यक्ष अधिकारीले निर्देशन दिएका छन् ।

सफा र स्वच्छ वातावणमा गुणस्तरीय खाद्य सामग्रीको मात्रै व्यापार गर्न गापाभरिका सम्पूर्ण पसल व्यवसायीहरूलाई आग्रह गरिएको छ । स्थानीय सरकारको उक्त निर्देशनलाई अटेरी गरी गुणस्तरहिन खाद्य तथा पेय पदार्थ बेच्ने र जनस्वास्थ्यमा खेलवाड गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने अध्यक्ष अधिकारीले चेतावनीसमेत दिएका छन् । स्थानीय सरकार स्वस्थ्य र स्वच्छ व्यवसायको पक्षमा रहेको स्पष्ट पार्दै अध्यक्ष अधिकारीले जनस्वास्थ्यको संरक्षणका लागि चालिएका कदमलाई उपभोक्ता र व्यवसायी दुवैले सचेत भएर मापदण्ड अनुसार गुणस्तरियतामा ध्यान दिन आग्रह गरेका छन् ।






