विदुरः देशमा उत्पन्न भएको परिस्थितिका कारण नुवाकोटमा नेपाली सेना खटिएको छ । आम सर्वसाारणको सुरक्षा तथा स्थितीलाई नियन्त्रण लिनका लागि पछिल्लो राजनीतिक परिवेशबाट उत्पन्न विषम परिस्थितिमा केहि समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, लुटपाट तथा आगजनी गर्ने सम्भावनालाई दृष्टिगत गर्दै सदरमुकाम विदुर तथा विभिनन स्थानमा नेपाली सेना परिचालन भएको हो ।



सेनाले सुरक्षा सचेतना सम्वन्धि जानकारी दिदै गस्ती, माइकिङ तथा सुरक्षाका विभिन्न कार्यहरु गरिरहेका छन् । नुवाकोटमा आमसर्वसधारणको दैनिक जनजीवन सामान्य बनाउन नेपाली सेना खटिएका हुन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सर्वसाधारणलाई घरमै बस्न र शान्तिपूर्वक दैनिक जीवन सञ्चालन बाहेक कुनै पनि किसिमका भेला, जुलुस वा सभा जस्ता गतिविधिमा सहभागी नहुन नेपाली सेनाबाट आग्रह गरिएको छ । नेपाली सेना लगायत जिल्ला स्थित सबै सुरक्षा निकायहरूको समन्वयमा जिल्लाको शान्ति, सुरक्षा र स्थायित्व कायम राख्ने दायित्वबोध सहित अहिले जिल्लाको अबस्था सामान्य बनाइएको छ ।
जिल्लाको मुख्य बजार क्षेत्र वट्टार, विदुर, त्रिशूली, कोलोनीमा सैनिक गस्ती भएसगै आमनागरिकले सुरक्षा सुनिश्चितता महशुस गर्दै आफ्नो नियमित कार्यमा क्रियाहील हुन थालेका छन् । देशको विषम अबस्थाको मौका बनाई चोरी, डकैती वा लुटपाटजस्ता अवाञ्छित गतिविधि हुन सक्ने सम्भावना देखिएमा नेपाली सेना सहित सुरक्षा निकायमा जानकारी गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ । सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन आवश्यक सम्पूर्ण कदम चाल्ने र जनताको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको भन्दै अहिले नुवाकोट सहित देशभर नेपाली सेना परिचालन भएको स्पष्ट पारिएको छ । नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर वुधवार बेलुकी ५ बजेसम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कफ्र्यू आदेश जारी हुने जनाएको छ ।
सेनाले जारी गरेको विज्ञप्तिमा परिस्थितिको विश्लेषणपछि थप सूचना सार्वजनिक गरिने उल्लेख छ । रक्षा मन्त्रालय मातहतको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको अपिलमा आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंस्रक आक्रमण तथा यौनजन्य हिंस्रक प्रयाससमेत भइरहेका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । यस्ता अपराधजन्य गतिविधि नियन्त्रणका लागि सम्पूर्ण नागरिकसँग सहकार्यका लागि आग्रह गरिएको छ । सेनाले आन्दोलनको क्रममा जनधनको क्षतिप्रति पुनः गहिरो दुःख प्रकट गर्दै यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको प्रयासलाई साथ दिन सबैलाई अनुरोध गरेको छ ।
निषेधाज्ञा तथा कफ्र्यूको समयमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन) भने सञ्चालन हुने जनाइएको छ । सेनाले कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ । त्यसैगरी, सम्पूर्ण अवकाशप्राप्त सैनिक, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाह वा भ्रामक कुरामा विश्वास नगरी आधिकारिक सूचनामा मात्र भरोसा गर्न आग्रह गरिएको छ । सेनाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनजीवनलाई सामान्य राख्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिमा पनि नेपाली जनताको सुरक्षा र मानवीय उद्धारमा आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





