बिदुरः नुवाकोटको पश्चिमी भेगमा रहेको कल्याणपुरमा बाढीका कारण अवरुद्ध सडक दुई दिनपछि सन्चालन भएको छ । शुक्रवार वेलुकी अविरल वर्षातसंगै आएको बाढीले पिच सडक नै वगाएपछि उक्त स्थानमा आवागमन नै ठप्प भएको थियो ।आवतजावत नै ठप्प भएपछि शनिवार दुई वटा हेभि इक्युपमेण्ट मेशिनमार्फत सडक मर्मत गरि अस्थायी रुपमा सन्चालन गरिएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले शनिवार विहानैदेखि हेभि इक्युपमेण्ट लगाएर मर्मत सुरु गरिएको वताए ।

उनका अनुसार आवतजावत सुचारु भएको छ । विदुर नगरपालिका ८ र १३ को वीचमा रहेको खुर्सानेखोलाले पुल छेउको १० मिटर पिच बाटो बगाएकोमा सडक मर्मत गरि एकतर्फि रुपमा सन्चालन भएको स्थानीयवासी श्याम ओझाले जानकारी दिए । उनका अनुसार अविरल वर्षात्संगै आएको बाढीले सडक नै कटान गरेर यातायात अवरुद्ध भएको थियो । पुलको पश्चिमतर्फ रहेको पिच सडक १० मिटर वगाएको हो ।
उक्त सडक नुवाकोटको सामरीलगायत उत्तरी धादिङवासी जाने वाटो हो । दैनिक ६० वटा वस, ट्रकलगायत साना गाडी तथा पांचसय थान मोटरसाइकल आवतजावत गर्ने सडक नै बाढीले कटान गरेपछि यात्रुहरु मर्कामा परेका थिए ।





